September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

कोशी प्रदेशमा ७ दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश, एमालेले दाबी गर्ने

690

काठमाडौं । कोशी प्रदेशमा ७ दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार कोशी प्रदेशमा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई नयाँ सरकार गठनको प्रक्रिया थाल्न आदेश दिएको हो ।

मुख्यमन्त्री नियुक्त गर्दा कोशी प्रदेशका सभामुखले दिएको मत असंवैधानिक भएको भन्दै सर्वोच्चले अर्को सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । आदेशअनुसार नेपालको संविधानको १६८ (२) बमोजिम अर्को सरकार गठन हुनेछ ।

यदि सात दिनभित्र कुनै पनि दलले बहुमत जुटाउन नसकेको खण्डमा धारा १६८ को ३ बमोजिम प्रदेशको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन हुनेछ ।

Advertisement

मुख्यमन्त्रीका लागि कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले अब नयाँ सरकार निर्माणमा आफूहरु पनि लाग्ने बताएका छन् । उनले प्रदेश प्रमुख, सभामुख र अन्य केही दलहरुले गरेको असंवैधानिक कामलाई सर्वोच्च अदालतले गलत ठहर गरेको उल्लेख गर्दै संविधानविपरीत चल्न खोज्नलाई सर्वोच्चले सही बाटोमा ल्याएको बताएका छन् ।