November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर

1.5K

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको हो ।

गत असार २१ गते सत्तारूढ गठबन्धनका दलहरूले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनीहरूको दाबीबमोजिम प्रदेश परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्रीमा कांग्रेसका उम्मेद्वार उद्धव थापालाई कुनै हालतमा समर्थन नगर्ने बताएपछि कांग्रेस नेताहरूकै जोडबलमा सभामुखलाई हस्ताक्षर गर्न लगाइएको थियो ।

प्रदेश सभाका सभामुखले मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कुरा असंवैधानिक भएको सर्वोच्चले ठहर गरेको छ । तटस्थ भूमिकामा रहन संविधानले दिएको निर्देशन नाघेर सरकार बनाउन समर्थन गर्ने कोशी प्रदेशका सभामुख बाबुराम गौतमको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएको हो ।

Advertisement

आदेशमा भनिएको छ, ‘नियुक्तिका लागि समर्थन गर्नै हुन्न भन्ने किटानी संविधानमा नभए पनि सभामुखको पद निष्पक्ष हुने भएकाले उनले कुनै दलकाप्रति पक्षधरता देखिने गरी दिएको समर्थन, संवैधानिक विधिशास्त्र, संवैधानिक नैतिकता का दृष्टिले त्रुटीपूर्ण दाबीलाई संविधानसम्मत भन्न मिल्ने देखिएन ।’

कोशी प्रदेशमा अब दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन सर्वोच्चले सात दिनको समय दिएको छ । यसरी सरकार बन्न नसके संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सरकार बनाउन सर्वोच्चले भनेको छ ।