काठमाडौं । बिहीबारका लागि हेर्दाहेर्दैमा राख्दै सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको विवादमा सुनुवाइ सकेको छ ।
दुवै पक्षको सुनुवाइ सकेपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखेको हो । लिखित जवाफ आइसकेको र मुद्दाको अंग पनि पुगेकाले सर्वोच्च अदालतले विहीबार अन्तिम आदेश नै आउनसक्ने बुझिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दाबीका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
उक्त नियुक्तिपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुख निष्पक्ष भूमिकामा रहनुपर्ने भएकाले मुख्यमन्त्री नियुक्तिका लागि समर्थन गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनले थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गर्दै आफूलाई नियुक्त गर्न परमादेश माग गरेका थिए ।