साकेला । खोटाङको साकेला गाउँपालिकामा आमा समूहलाई घरायसी मिल उपलब्ध गराईएको छ । गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम मार्फत बिनियोजित महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत खरिद गरिएको कुटानी पिसानी मिल साकेला गाउँपालिका–५ का आमा समूहलाई बुधबार हस्तान्तरण गरिएको हो ।
वडा नं. ५ का वडाअध्यक्ष जीवन खत्रीको अध्यक्षता तथा गाउँपालिका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यता तथा उपाध्यक्ष बिर्सिका राईको विशेष आथित्यतामा कुटानी पिसानी मिलसँगै आमा समूहको वैठक कक्षको लागि कुर्सी समेत हस्तान्तरण गरिएको हो ।
समाग्री हस्तान्तरणपछि बोल्दै गाउँपालिका अध्यक्ष राईले पालिकाद्धारा हस्तान्तरण गरिएको कुटानी पिसानी मिलले महिलाहरुको जीवनयापनमा सहजता ल्याउनुका साथै कार्यवोझ घटाउने कुरामा आशावादी रहेको बताए । ‘हामी धैरै ठूलो कुराको अपेक्षा नगरौं, स–साना कुराहरुमा पनि समृद्धि लुकेको हुन्छ, तिनै कुराहरुबाट समृद्धिको दिशामा पालिका अघि बढ्छ । नागरिकले देखेको सपनालाई साकार बनाउन पालिका सरकार प्रतिवद्ध छ । अबको पाँच वर्षपछि साकेला गाउँपालिकाले विकासको हरेक क्षेत्रमा निकै फड्को मारिसकेको हुनेछ । गाउँपालिकालाई दिगो विकास गरी समृद्धिको उचाईमा पुर्याउन नागरिकहरुको उतिकै भूमिका हुनेगर्छ, तसर्थ पालिका सरकारले गर्ने सकारात्मक कार्यमा सबैले साथ दिनुहोस् ।’, अध्यक्षले भने ।
विभिन्न समयमा बस्ने आमा समूहको वैठकका लागि कुर्सीको अभाव भएको साथै घरायसी मिलको अभावमा महिलाहरुलाई ढिकीजाँतो गर्न समेत समस्या भईरहँदा जीवनयापनलाई सहज बनाउन उक्त समाग्री खरिद गरी हस्तान्तरण गरिएको उपाध्यक्ष बिर्सिका राईले बताए । कुटानी पिसानी मिल र कुर्सी पालिकाका सबै वडाका महिला समूहहरुलाई हस्तान्तरण गरिने उनले बताए ।