विराटनगर । नेकपा एमालेले सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न नमिल्ने बताएको छ । प्रदेश प्रमुख परशुराम खापुङलाई ध्यानाकर्षण गराउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेतासमेत रहेका हिकमतकुमार कार्कीले सत्तारुढ गठबन्धनले सभामुखलाई पनि जोडेर कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी पेश कुनै हालतमा सभामुखको प्रयोग गर्न नमिल्ने बताएका हुन् ।
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ नै छ । ४० सिटको एमाले प्रतिपक्षमा छ । ६ सिटको राप्रपाले उद्धव थापालाई सहयोग नगर्ने बताएको छ ।
गठबन्धन दलले सभामुखसहित ४७ पु¥याएर सरकार गठन गरेपनि विश्वासको मत लिँदा सभामुखले बराबरी भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् । राप्रपाले सहयोग नगरेको अवस्थामा अब बन्ने सरकार ३० दिनपछि ढल्ने जोखिम छ ।
एमालले सरकारमा दाबी नगर्ने
सञ्चारकर्मीसँग कुरा गर्दै गर्दै कार्की संविधानको धारा १६८ को २ अनुसार एमालेले सरकारमा दाबी नगर्ने र आज बेलुका ५ बजेपछि १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुने बताए ।
कार्कीले भने ‘दाबी कसरी गर्नु हामीले, दाबी त बहुमत पुर्याएर गर्नु प¥यो आज त,’ उनले भने,‘ भरे ५ बजेपछि हाम्रो पालो आउने हो ।’