काठमाडौं । प्रदेश १ का एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले निस्किन नचाहँदा नचाहँदै एमालेले पार्टीबाट निकालेको आरोप लगाए । बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले एमालेले निरन्तर पेलेकाले पार्टी नै छोड्नु परेकाले समर्थन गर्न नसकिने बताएका हुन्।
उनले सपनामा पनि एमाले पार्टीकै नेताका रूपमा भाषण गरेको, आन्दोलनमा सहभागी भएको देख्ने गरेको बताए। ‘हाम्रो समर्थन त त्यति खोज्दैन पनि एमालेले। हामीलाई त विश्वासको मतको समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ। त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन। सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छ। आन्दोलन गरेको देखिन्छ । त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ। त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन। बरू बेहुलीले घर छाड्दा अहिले रूने चिच्याउने, चित्त दुखाउने गर्दैनन्’, उनले भने।
पूर्व मुख्यमन्त्रीसमेत रहेका एमालेले आफूहरूलाई निकालेर, खेदेर, पिना बनाएर, त्यसलाई पनि पेलेर तेल निकाल्न खोजेपछि निस्कनुको विकल्प नरहेको बताए। उनले भने, ‘हामीलाई त निकालेर, खेदेर, पीना पनि पेलेर तेल निकाल्नु खोजेको हो ।’
‘अहिले पनि यो सरकार आइसकेपछि कानुनबमोजिम भएका हाम्रा नियुक्ति धमाधम हटाइए। अदालतले फिर्ता बोलायो। चार जना छौं, यसो लुसुलुसु लागेर हिँड्दा गमक्क परेर बाटो छेकुँलाजस्तो व्यवहार छ। यो त सांकेतिक कुरामात्रै गरेको हो,’ उनले भने, ‘तर, कहिलेकाहीँ भोट चाहिएका बेला भोटे माया हरर्र जागेर आउँछ- हामी त एउटै पार्टीबाट छुटेको र भोलि पनि मिल्ने हो। यस्तो खालको कुरा आउँछ।’
अहिले पनि हिजोको गल्ती सच्याउने हो भने, पेल्न छाड्ने हो भने समर्थन होइन, पार्टी एकता नै गर्न चाहने उनले बताए।
‘हिजोको गल्ती सच्याउन तयार हुनुपर्यो। हामी एउटा होइन, दुइवटै हात उठाएर समर्थन गर्छौं। नामकरणका बेला, सभामुख उपसभामुख छनोटका बेला, नियुक्तिका खारेज गर्दा खोजिएन। अहिलेमात्रै खोज्न अहिलेचाहिँ मिल्दैन कि, यो तरिकालेचाहिँ विश्वासको मत दिन गाह्रो पर्छ कि मुख्यमन्त्रीज्यू!,’ उनले भने।
उनले एउटै पार्टी बनाउँ, एउटै संसदीय दल बनाउँ बरू संसदीय दलको नेता तपाईं नै बन्नुहोस् भनेर समेत मुख्यमन्त्रीलाई प्रस्ताव गरे। तर, अहिले विश्वासको मत दिन नसकिने उनको प्रष्टीकरण थियो।
