विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेका उनले गठबन्धन दलहरूसँग विश्वासको मत मागेका छन् । उनले गठबन्धन दल काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसँग लिखित रूपमा विश्वासको मत दिन अनुरोध गरेका हुन् ।
पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेपछि बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका छन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा प्रस्ताव राख्ने, प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने र बजेटसबन्धी अध्यादेश पेस हुने बैठकको सम्भावित कार्यसूची रहेको छ ।
प्रदेशसभाको अहिलेको अंकगणितअनुसार एमालेका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने अवस्था छैन । यो अवस्थामा बजेटसम्बन्धी अध्यादेश प्रदेशसभा बैठकमा छलफलमा समेत नगई अस्वीकृत हुने जोखिम छ ।