September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

कोशी प्रदेश सभाको तेश्रो अधिवेशन आव्हान

750

विराटनगर । कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले असार १४ गतेलाई १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाको तेश्रो अधिवेशन आव्हान गरेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था रहेको छ ।

Advertisement

प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने उपधारा (३) मा उल्लेख छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्की एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थनमा सरकारमा रहेका छन् । उनलाई विश्वासको मतका लागि एक मत मात्रै आवश्यक छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटको मुखमा माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले जेठ ३१ गते बुधबार रातको १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए ।