दमक । झापाको मेचीनगर वडा नं. ११, १२, १३ र १४ को संयुक्त वडा सङ्घर्ष समिति पहिचानका लागि युवा गठन भएको छ ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति मेचीनगरको आयोजनामा असार ९ गते कियाचु मेचीनगर वडा नं. १३ को सभाहलमा सम्पन्न कार्यक्रममा सो समितिहरु गठन गरिएका हुन् ।
जिल्ला समन्वय संघर्ष समिति झापाका संयोजक तथा नेफिन झापा अध्यक्ष पाण्डवलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तेजबहादुर कन्दङ्वा लिम्बूको संयोजकत्वमा ६५ सदस्यीय मेचीनगर नगर पालिका वडा नं. ११, १२, १३ र १४ को संयुक्त वडास्तरीय संयुक्त संघर्ष समिति गरिएको हो । समितिको सह–संयोजकहरुमा रमेश इजम, रुपध्वज लिम्बू, शुक्रराज थेबे रहनुभएको छ भने सचिव र आर्थिक संयोजकमा श्याम लिम्बू र अस्मिता राजवंशी छानिएका छन् ।
यसैगरी सोही वडाको पहिचानको लागि युवा जगतलाल चौधरीको संयोजकत्वमा १५ सदस्यीय संयुक्त वडा युवा गठन भएको छ जसमा सह–संयोजक मानबहादुर साँबा रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डवलाल चौधरी, विशिष्ठ अतिथि थारु कल्याणकारी संघका केन्द्रीय सदस्य श्रीप्रसाद चौधरी, विशेष अतिथि सङ्घर्ष समिति सदस्य सचिव तथा किरात याक्थुङ् चुम्लुङ् झापा अध्यक्ष सेसेहाङ् फियाक लिम्बू, विशेष अतिथि संघर्ष समिति सचिवालय सदस्य समर राई, विशेष अतिथि मेचीनगर संघर्ष समिति संयोजक ओमप्रकाश खापुङ् लगायतले प्रदेश नं. १ को कोशी खारेजीको आन्दोलन गर्नुको कारण र सम्पूर्ण पहिचानवादीहरु आनदोलनमा होमिनुको कारण केलाउँदै एक नश्लिय उपनिवेशवादी शासक र शासनको विरुद्धमा एकजुट भएर अघि बढ्दै आन्दोलन र विद्रोहको विकल्प नरहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा पहिचानवादी नेताहरु लासिम पालुङ्वा, पुष्पा बोखिम, मित्र लिङ्देन, इन्दिरा द्यौराली, आर. बी. पालुङ्वा लगायतको विशेष उपस्थिति रहेको थियो ।
कियाचु मेचीगनर वडा नं. १३ का अध्यक्ष खविन थेबेको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा कियाचु झापा पहिचानवादी नेता कालीबहादुर खेवाङ्ले स्वागत मन्तव्य राखेका थिए भने सचिव दिपक लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।