सुनसरी । ‘स्कुलमा कविता’ अन्तर्गत साविक महेन्द्रनगर गाविस अन्तर्गतको चक्रघट्टी अडिसन शनिवार महेन्द्र मावि चक्रघट्टीमा सम्पन्न भएको छ । अडिसनबाट वसन्त ऋतु माविका आर्यन निरौला र महेन्द्र मावि चक्रघट्टीका युजिना श्रेष्ठले उत्कृष्ट १० को टिकट काट्न सफल भएका छन् भने कोशी माविका चिना कटुवाल तेस्रो बन्न सफल भइन् ।
साविकको महेन्द्रनगर गाविसभर रहेका माध्यमिक विद्यालयहरुबीच भएको उक्त प्रतिष्पर्धामा बराहक्षेत्र–७ का वडाअध्यक्ष कपिल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष कविको रुपमा बेलबारीका कवि रेखा सुवेदी ‘आमा म पनि स्कुल जान्छु’ र बराहक्षेत्रका स्थानीय विशेष कविको रुपमा सुबिन विश्वकर्माले ‘कठघराको बयान’ शीर्षकको विशेष कविता वाचन गरेका थिए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि कपिल आचार्यले अबका जनप्रतिनिधिहरु साहित्य र सिर्जनाप्रति उदार हुँदै अघि बढ्नुपर्ने बताए । ‘मैले साहित्य र सिर्जनामा पहिले बाटै आफूले सकेको साथ सहयोग गर्दै आएको छु । स्वर्णिम साहित्य समाजको हरेक योजनाहरू समय सान्दर्भिक हुने गर्दछ । यसर्थ पनि यो समाजलाई साथ सहयोग रहने छ ।’, उनले भने ।
समाजका अध्यक्ष प्रकाश दिप्साली राईको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष शरण लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका सन्चालन सचिव लक्ष्मण कटुवालले गरेका थिए ।
अर्को अडिसन आगामी फागुन ०६ गते साविकको प्रकाशपुर र मधुवन गा.वि.स.को संयुक्त अडिसन फागुन १३ गते प्रकाशपुर माविमा हुनेछ ।
कार्यक्रमका विजेताले रु. १० हजारका साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः पाँच हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन् ।