लामो सफरमा मलाई एक्लो – एक्लो पारी
तिमी त बिदा लिँदै थियौ
छाडी चिसा रातहरूमा ताता आँसुहरू
आँसुभरिका आँखाहरूले देखेँ
आँगनभरि पारिजात
पारिजातका सुगन्धहरूमा तिम्रा मुटु छेड्ने यादहरूलाई ।
तिमीलाई सम्झाउन पो फूल्छन् कि फूलहरू ?
त्यसैले
मलाई फूल मन पर्दैन ।
फुलले दिने सुवास मन पर्दैन।
कवि सबिता फागो चोङ्बाङको ‘मलाई फूल मन पर्दैन’ नामको कविताबाट सुरुभएको सो “साहित्यसँग संगीत” कार्यक्रम साहित्य र संगीतमय बन्यो । कालकुट साहित्यिक मन्च धरानले दीपावलीको शुभकामना सहित सो अवसर गत शनिबार जुराएको थियो ।
सुनौलो मेलोडी परिवारले संगीत संयोजन गरेको सो कार्यक्रममा परिवारको तर्फबाट विविध सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो । सबिता फागो पछि मन्च उक्लिएका अर्का दार्जिलिङ्गे कवि विशाल नाल्बोले आफ्ना कविताहरु सुनाए ।
ठिक त्यतिखेर म
लेखेर गगुणको पातमा चिट्ठी
थमाउने छु तिम्रो हातमा
र भन्ने छु हेप्पी भ्यालेन्टाइन्डे ।
त्यो साँझ हाम्रो प्रेमलाई देखेर
ठोक्ने छ सलामी
एउटा योध्दा भ्यालेन्टाइन्ले चिहानैबाट
र गाउने छ बेस्मारी अत्मा सन्तुष्टीको पालाम
उनको मुन्धुममा भ्यालेन्टाइन डे कवितालाई दर्शक दिर्घाले वान्समोर ……भन्न भ्याए । त्यसको अलवा कवि नाल्बोले किसानसँगै केही अरु कविता पनि सुनाए । कवि सबिता फागोले बतास, खबर लगायत लोकप्रिय कविताहरू सुनाइन् । सुनौलो मेलोडी परिवारको तर्फबाट ममता राई, निशा खपाङ्गी , पूर्ण के राई, अनिल क्षेत्री, मिलन राई, उदेश राईलगायतले आफ्नो सांगीतिक प्रस्तुती दिए । सो सांगीतिक प्रस्तुतिमा गिटरमा श्रीहाङ राईले साथ दिएका थिए ।
मन्चका अध्यक्ष गजलकार श्रेष्ठ परिक्रमाको सभाध्यक्षमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि धरान १३ का वडाअध्यक्ष मनोज भट्टराईले युगकवि सिद्धीचरण श्रेष्ठको “म बहुला होइन” कविता वाचन गर्दै समुद्घाटन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य मन्चका उपाध्यक्ष इन्दु नेपाल योन्जनले राखेका थिए । साहित्य र संगीतको फ्युजनले कार्यक्रमलाई थप लोकप्रिय बन्न मद्दत गर्ने भएकाले यस्ताखालका कार्यक्रमको आयोजना गरेको मन्चका सचिव कुमार कल्पित प्रधानले बताए ।
नयाँ अनलाइन डटकमबाट साभार