April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

विमानस्थलमै युवाहरुले जलाए रास्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला

4.2K

काठमाडौं । ताप्लेजुङमा युवाहरुले प्रधामन्त्री केपी शर्मा ओली, रास्ट्रपति विद्यादेवी भण्डारी र अर्थमन्त्री विष्णु पौडेलको पुत्ला जलाएका छन् । अखिल क्रान्तिकारी, नेपाल ताप्लेजुङको संयुक्ततामा नारा जुलुस सहित बुधबार ताप्लेजुङस्थित सुकेटार विमानस्थलमै पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको कामचलाउ सरकारले अध्ययादेशमार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ बनाउने घोषणा गरेको विरोधमा पुत्ला जलाएका हुन् ।

उनीहरुले ऐतिहासिक महत्त्व बोकेको सुकेटार विमानस्थल नै यथावत रहन जाेडदार माग समेत गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षको बजेटमा विभिन्न विवादास्पद कार्यक्रमहरु सार्वजनिक गरेपछि बिकासको नाममा आदिवासीको आस्थामाथि प्रहार गर्ने नीति अललम्बन गरेको भन्दै आदिवासी जनजातिजन्य संघसंस्थाले विरोध जनाइरहेका छन् ।

Advertisement

बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई स्वर्गीय रबिन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गर्ने घोषणा गरेपछि चौतर्फित विरोध भइरहेको छ । यस नामाकरणलाई इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका हुन् ।

यस्तै सरकारले किरातीहरुको आस्थासँग जोडिएको सप्तकोसीस्थित ‘खुवालुङ’लाई पनि नयाँ बजेटमार्फत फुटाउने नीति ल्याएपछि खुवालुङ संरक्षण पक्षधर तथा किरात समुदायका अगुवाले विरोध जनाईरहेका छन् भने प्रतिकार गर्ने चेतावनीसमेत दिइसकेका छन् ।