November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रकी कोरोना संक्रमित महिलाको उपचार नपाएरै ज्यान गयो

2.2K

दमक । प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रकी कोरोना संक्रमित ४२ वर्षीया महिलाको उपचार नपाएर आइतबार ज्यान गएको छ। दमक नगरपालिका-७ संरक्षणटोलकी सोनु तिरुवा श्रेष्ठको उपचार नपाएर ज्यान गएको हो।

शनिबार दिउँसो उनलाई एड्भान्स अस्पतालमा भर्ना गरिएको थियो। तर, स्वास्थ्य अवस्था सामान्य रहको भन्दै अस्पतालले इलामको चुलाचुली-४ मा रहेको अस्थायी कोभिड अस्पतालमा लैजान सल्लाह दियो। अस्पताललको सल्लाह अनुसार आफन्तले चुलाचुलीको अस्थायी कोभिड अस्पताल लगे। आइतबार बिहान राति स्वास्थ्यमा समस्या जटिल आयो।

राति १ बजे एम्बुलेन्सबाट दमकको एड्भान्स अस्पताल नै ल्याइयो। ‘हामीले राति नै दमकको एड्भान्स अस्पताल ल्याएका थियौं। छ घन्टापछि अस्पताल प्रशासनले भेन्टिलेटरसहितको अस्पताल लैजान हामीलाई अनुरोध गर्‍यो,’ मृतकका दाजु तिरुवाले भने, ‘एड्भान्स अस्पतालले यहाँ उपचार नहुने भन्दै अन्यत्र लैजान भनेपछि हामीले झापा, मोरङ र सुनसरीका सुविधा सम्पन्न अस्पतालमा फोन गर्न थाल्यौं।’

Advertisement

तिरुवाका अनुसार विराटनगनरको नोबेल, विराट र कोसी अस्पतालमा अनुनय-विनय गरियो। ‘हामीलाई सबै अस्पतालले आइसियू र भेन्टिलेटर प्याक भएको जानकारी गराए। धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कुरा गर्‍यौं। त्यहाँ पनि मोरङको जस्तै जवाफ दिए,’ तिरुवाले भने।

त्यसपछि दमककै लाइफलाइन र आम्दा अस्पतालमा प्रयास गरियो। ती दुई अस्पतालले उपचार गर्न सकेनन्। ‘एड्भान्स अस्पतालका डाक्टरले विर्तासिटिमा भेन्टिलेटर खाली भएको जानकारी दिए। हामीले हतार-हतार एडभान्सबाट सिकिस्त अवस्थाकी बिरामी बहिनीलाई विर्तासिटी पुर्‍यायौं,’ तिरुवाले भने।

उनका अनुसार विर्तासिटी अस्पतालमा पुर्‍याउँदा भेन्टिलेटर खाली छैन भन्ने जवाफ आयो। ‘एड्भान्सका डाक्टरले विर्तासिटीमा भेन्टिलेटर खाली छ भन्दै हामीलाई पठाएको भन्यौं,’ तिरुवाले भने, ‘सो अस्पतालले तीन दिनदेखि भेन्टिलेटर र आइसियू प्याक भएको बताएपछि हामी रनभुल्लमा पर्‍यौं।’

बिरामीको उपचार गर्ने कक्ष नभएको बताएपछि उनीहरूले बिएण्डसी अस्पताल लगे। त्यहाँ पनि उपचार गर्न अस्पतालले मानेन। बिरामी एम्बुलेन्सबाट उतार्न परेन।

‘अस्पताल चहार्दा चहार्दै दिन बित्न लागेपछि फेरि हामीले एडभान्स नै ल्यायौं। त्यहाँ आइपुग्दा बहिनी निकै सिकिस्त भइसकेकी थिइन्,’ श्रेष्ठले भने, ‘एकै छिनपछि उनको मृत्यु भयो।’

बहिनीलाई बचाउनका लागि धेरै दौडिए पनि उपचार पाउन नसकेको गुनासो उनले गरे।