इलाम : पाँचथरको रवि बजारएका एक अधबैंसे व्यक्ति मंगलबार साँझ अचानक बिरामी परे । घाँटी दुखाई र स्वासप्रस्वासमा समेत सामान्य समस्या भएपछि उनलाई सुविधायुक्त अस्पताल पुर्याउनुपर्ने भयो । साँझ छिपिइसकेकाले गाडीमा राखेर उनलाई झापाको दमकतर्फ हिँडाइयो ।
रवि-चिसापानी-दमक सडक (फाल्गुनन्द मार्ग) को करिब ४५ किलोमिटर यात्रा थियो । तर भारी वर्षाका कारण सडक क्षतविक्षत र हिलाम्य त्यहीमाथि रातीको यात्रा झनै कष्टकर । रात छिप्पिदैं थियो । करिब साढे १२ बजे माङसेबुङ ३ स्थित चतुरे बजार पार गर्न बित्तिकै गाडी हिलोमा एक्कासी फस्यो ।
करिब १५ किलोमिटर मात्र पार गरेको गाडीले हिलाम्मे सडक छिचोल्न सकेन । उपचारका लागि बिरामी लिएर हिडेको गाडी रातभर त्यही रोकियो । बिरामी लिएर हिडेका आफन्त अत्तालिए, तर कुनै उपाय थिएन । सडकको माथिबाट पहिरो समेत खस्न थालेपछि उनीहरु गाडीबाट बाहिर निस्के । बास बस्नका लागि कुनै प्रबन्ध भएन । विरामीसहित कुरुवाले सडकमा नै रात बिताए ।
विहान स्थानीयबासीहरु भेला भए । हिलोमा फसेको गाडी निकाल्न कोसिस गरे तर सकेनन् । स्काभेटर बोलाइयो । करिब ८ बजेतिर स्काभेटर आएर हिलो सोहोरेर फाल्यो । त्यसपछि बल्लतल्ल स्काभेटरको सहयोगमा हिलोमा फसेको गाडी निस्कियो ।
साँझ रविबाट बिरामी बोकेर हिँडेको गाडी १५ किलोमिटर पार गर्दा १२ घण्टा बित्यो । बिहानमात्र चतुरेबाट दमकतर्फ हिँड्यो । बिरामीको अवस्था सामान्य रहेकाले मात्र कुनै दुर्घटना हुन पाएन । यदि बिरामीको अवस्था गम्भीर भएको भए के हुनेथियो भन्ने विषय सोचनीय बनेको छ ।
यो एक प्रतिनिधि घटना मात्र हो । यो सडक वर्षायाममा कैयौँपटक अवरुद्ध हुन्छ । स्थानीयले यस्ता कैयौं घटनाको सामना गर्नुपरिरहेको छ । सडक त्यहीँमाथि ठाउँठाउँमा पहिरा, खाल्डाखुल्डी र हिलोको अवरोधले यात्रा कष्टकर बन्ने गरेको छ । सडकका कारण बिरामीहरु रातभर बाटोमै रोकिनु दुःखद् भएको स्थानीयहरु बताउँछन् ।
सो सडकखण्ड निर्माण सुरु भएको करिब ३ दशक पुग्न लाग्दासमेत कालोपत्र हुने सकेको छैन । सडक कालोपत्रे नुहँदा इलामका पश्चिमी क्षेत्र र पाँचथरका केही क्षेत्रका बासिन्दाहरु समस्यामा छन् । हिँउदमा सहजता भएपनि वर्षात सुरु हुनसाथ वर्षौंदेखिको पीडा दोहोरिरहन्छ ।