April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मन्त्री आङ्बोहाङको प्रदेशसभा सदस्य पद खारेज

5.6K

मोरङ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङको प्रदेशसभा सदस्य पद गएको छ । नेकपा (माओवादी केन्द्र)बाट ताप्लेजुङ को १ (ख) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका आङ्बोहाङ एमालेमा प्रवेश गरेकाले प्रदेशसभा सदस्य पद गुमाएको हो ।

प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले मन्त्री आङ्बोहाङले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रदेशसभा सदस्यबाट हटाउन माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गराएको पत्र पढेर सदनमा सुनाएका छन् । उनले प्रदेशसभामा एक प्रदेशसभा सदस्य पद रिक्त भएको सदनलाई जानकारी गराए ।

आङ्बोहाङलाई मन्त्रीमा बसिरहन पुन: शपथ ग्रहण गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्य नभएका व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउने संवैधानिक व्यवस्था रहेको छ । ६ महिनाभन्दा बढी प्रदेशसभाको कार्यकाल रहेको अवस्थामा रिक्त पदका लागि उपनिर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी निर्वाचन आयोगलाई दिनेछ ।

Advertisement

तत्कालीन माओवादी केन्द्रको संसदीय दलका नेता आङ्बोहाङले सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमा प्रवेश गरेर केन्द्रीय सदस्यका साथै मन्त्रीको जिम्मेबारी सम्हालेका छन् ।