विराटनगर । केही समयदेखि शून्यमा झरेको कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेसँगै मोरङमा होली पर्वमा भिडभाड गर्न प्रशासनले रोक लगाएको छ ।
नजिक आइरहेको रङ्गहरुको पर्व होलीमा हुने भिडभाडले कोरोनाको संक्रमणलाई फेरि विस्तार गर्नसक्ने भन्दै पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीय प्रशासनले सक्रियता देखाएको हो । यो वर्ष जमघट र भीडभाड गरेर समुदायमा नखेल्न जिल्ला सुरक्षा समितिले सबैमा आग्रह गरेको छ । समितिको मंगलबार बसेको बैठकले नियमको उल्लंघन गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमणको नयाँ लहर आएकोले होलीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने निर्णय भएको प्रशासनले जनाएको छ । समुदायस्तरमा संक्रमण फैलन नदिन भिडभाड गरेर होली खेल्न रोक लगाइको हो । नेपालसँगको खुला सीमा रहेको छिमेकी मुलुक भारतमा व्यापक रुपमा संक्रमण फैलन थालेपछि सीमा नाकामा पनि कडाई थालिएको छ । कोरोनाका कारण संसारभर नै कडाई भइरहेको अवस्थामा सुरक्षा समितिले होली पर्व समुदायमा मनाउन रोक लगाएको हो ।