झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा चीन नेपालमैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्सिप इन्डस्ट्रियल पार्क)को शिलान्यास गरेका छन् । झापा क्षेत्र नम्बर ५ को दमक नगरपालिका १०, कमल गाउँपालिका ७ र गौरादह नगरपालिका ५ को केही भाग जोडेर बन्न लागेको औद्योगिक पार्कको एक भव्य समारोहबीच प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । अर्बौं लगानीमा बन्न लागेको पार्क ओलीको निर्वाचन क्षेत्र हो ।
सो पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभेलप्मेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न सरकारले स्वीकृति दिएको छ । यसका लागि दुवै देशबीच सम्झौता भइसकेको छ। यो पार्क दश वर्षमा निर्माण हुने र ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ ।
एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर ९६३ अर्ब २१ करोड रुपैयाँ लगानी गरेर निर्माण कार्य हुनेछ । सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ। यो परियोजना २२ सय बिगाहा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको छ ।
सन् २०१७ मा चीनबाट आएका टोलीले उक्त जग्गा अवलोकन गरेको थियो । त्यस्तै प्रधानमन्त्री ओलीले कमल गाउँपालिका २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् ।गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर रहेको छ। सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले १६ करोड ६२ लाख ६४ हजार ९७५ रुपैयाँमा ठेक्का लिएका थिए। २०७२ साल माघ ६ गते ठेक्का सम्झौता भएको सो पुल हालै निर्माण सम्पन्न भएको हो।
त्यस्तै ओलीले दमक नगरपालिका १० स्थित मोरङको आमवारि जोड्ने मावा–बेतनी खोलाको पुलको उद्घाटन गरेका छन् । २०७१ को चैतमा एमाले अध्यक्ष भएका बेला ओलीले शिलान्यास गरेको पुल बिटी निर्माण सेवाले निर्माणको ठेक्का लिएको थियो । चार करोड ४० लाख रुपैयाँमा बनेको सो पुलको लम्बाइ २०० मिटर रहेको छ। यो पुल निर्माण भएसँगै झापा र मोरङवासीले प्रत्यक्ष फाइदा लिने भएका छन् ।
त्यसैगरी प्रधानमन्त्री ओलीले दमक नगरपालिका९ १ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोक मार्गअन्तर्गत सुनसरीको चतारादेखी झापाको बाहुन डाँगीसम्मका खोलाहरूमा निर्माण हुने अन्दाजी तीन दर्जन पुलको दमकस्थित बेलडाँगी रतुवा खोलाबाट संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम बाँकी रहेको छ। त्यो पनि आजै शिलान्यास हुनेछ ।