सुर्खेत : कर्णालीका स्थानीय तहमा ३ अर्ब रूपैयाँभन्दा बढी रकम बेरूजु रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार कर्णालीका गाउँपालिका र नगरपालिका गरी ३ अर्ब २६ करोड ९१ लाख रकम बेरूजु निस्केको हो।
कर्णालीका ५० गाउँपालिका र २३ नगरपालिकाको लेखापरीक्षण गरेको महालेखाले नगरपालिकाहरूमा नै १ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ बेरूजु (पेश्कीसमेत) रहेको उल्लेख प्रतिवेदनमा गरेको छ। महालेखाले कर्णालीका ७३ स्थानीय तहमा कुल ६५ अर्ब ३७ करोड ६० लाख रूपैयाँको लेखा परीक्षण गरेको थियो।
बेरुजुमध्ये ५४ करोड ९३ लाख पेश्की रकम हो। ५० गाउँपालिकाको बेरूजु रकम १ अर्ब ८९ करोड १४ लाख रुपैयाँ रहेको प्रतिवेदनमा जनाइएको छ। स्थानीय तहको अध्यावधिक बेरूजु नै १ अर्ब ३१ करोड १५ लाख ४९ हजार रूपैयाँ रहेका महालेखाले औंल्याएको छ। विगतमा कानुनविपरीत भएको खर्च सरकारी निकायहरूले फर्छौट गर्न नसक्दा बेरूजु रकम अझै बढेको हो।
महालेखाले मुगुको छायानाथ–रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड र मुगुम–कार्मारोङ गाउँपालिका तथा हुम्लाको अदानचुली गाउँपालिका र डोल्पाका ठूलीभेरी नगरपालिकाको लेखापरीक्षण बाँकी रहेको जनाएको छ।