November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

हुम्लाको विद्यालयमा फैलियो कोरोना

3.3K

काठमाडौं–हुम्लाको नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन्। सुरुमा चार जनाको परीक्षण गर्दा तीन जनाको पोजेटिभ रिपोर्ट आएको थियो। लगत्तै स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको थियो।

बिहीबारसम्म विद्यालयमा कोरोना पोजेटिभ देखिएकाहरुको संख्या ५६ पुगेको छ।

गाउँपालिका अध्यक्ष विष्णु लामाका  अनुसार छात्रावासमा रहेका करिब एक सय विद्यार्थीको स्वाब परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएका अन्य विद्यार्थीलाई घर पठाइएको छ भने संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको छ। 

Advertisement

‘अहिलेसम्म कसैलाई पनि गाह्रो हुने गरी लक्षण देखिएको छैन,’ उनले भने, ‘कोरोना देखिएकालाई तातोपानी र अन्य तागतिलो खाना  खुवाएर राखिरहेका छौं ।’ संक्रमित छात्रछात्रा १२ देखि १८ वर्षसम्मका छन् ।