November 3, 2024, Sunday
२०८१ कार्तिक १८
1:37:26 pm

बागमती प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ राख्नुपर्छः मुख्यमन्त्री जम्मकट्टेल

2K

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका छन् । बागमती प्रदेश नामकरणमा धेरै जनता खुसी नभएको भन्दै उनले बागमति प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ राख्नुपर्ने बताएका हुन् ।

मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री जमकट्टेलले भने, ‘प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्छ । प्रदेश राजधानी हेटौंडामा अपायक छ । प्रदेशको एउटा कुनामा छ । चितवन र मकवानपुरबाहेक अरू ११ जिल्लालाई पायक पर्दैन । सबैलाई पायक पर्ने गरी प्रदेश राजधानी धुलिखेल राखिनुपर्छ। उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुवै परिवर्तन हुन्छ र त्यो प्रदेश सभाको अधिकार पनि हो ।’

बागमती प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको उनको भनाइ थियो । त्यतिबेला प्रदेश सभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ नै हुनुपर्छ भनेर अडान लिए पनि सम्भव हुन नसकेको उनको भनाइ थियो ।

Advertisement

यसमा अहिलेको व्यवस्था मन नपराउनेबाट असन्तुष्टिका स्वर आउन सक्ने मुख्यमन्त्री जम्मकट्टेलको भनाइ छ । बागमती प्रदेशले नेवार र तामाङ समुदायको भाषालाई सरकारी कामकाजीको भाषाको रूपमा प्रयोग गर्ने गरी ऐन पारित गरेको र यसलाई आगामी ६ महिनाभित्र सबै निकायमा कार्यान्वयनमा ल्याउने उनले बताए ।

अहिले नै सरकारी निकाय र स्थानीय तहलाई कुनै पनि सूचना जारी गर्दा, साइनबोर्ड राख्दा नेपालीसहित नेपाल भाषा र तामाङ भाषामा समेत प्रयोग गर्न निर्देशन दिइसकेको, सरकारी कार्यालयमा यी तीनवटै भाषाको निवेदन लिन पनि निर्देशन दिइसकेको मुख्यमन्त्रीले बताए ।