काभ्रेपलान्चोक । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सहकारीबाट ऋण लिएर अनुत्पादक क्षेत्रमा लगानी नगर्न सहकारीका सेयर धनीहरूलाई सचेत गराएका छन् । शनिवार काभ्रेको पाँचखाल नगरपालिका स्थित आय आर्जन बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री लम्सालले सहकारीका सेयर धनीहरूले सहकारीबाट ऋण लिएर आय आर्जन हुने काममा लगानी गर्न आग्रह गरेका हुन् ।
सहकारीले जनताको ससाना समस्यामा सहकार्य गरि सहयोग गरेकोमा प्रंशसा गर्दै सहकारीले जनजीविकाको आर्थिक भारलाई पूर्ति गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले भने, ‘ठुला पुँजी भएका सहकारीले केही रकम हिनामिना गरि बदमासी गरेको समाचारहरु सुनिएको छ । तिनै संस्थाहरुको कारण सहकारीप्रति गलत प्रचार हुनु स्वभाविक हो ।’ अब सरकारले नीति नियम बनाएर नियमन गर्नुपर्ने र बचतकर्ताको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने समय आएको भन्दै मन्त्री लम्सालले सरकारलाई सचेत गराएका छन् ।
आय आर्जन सहकारी संस्थाका बचतकर्ताले व्यवसायीक तरिकाले बाख्रा, कुखुरा पालेर, कृषि क्षेत्रमा तरकारी खेती गरेर मुनाफा मुखि काम गरि आर्थिक रुपमा सुदृढ, स्वावलम्बन र आत्मनिर्भर बन्न सहयोग गरेको उनको धारण छ ।
आयआर्जन बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभाको प्रमुख अतिथि समेत रहका मन्त्री लम्सालले मैन बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका थिए । उक्त साधारण सभामा नेकपा एस काभ्रेका सचिवालय सदस्य राजन प्रसाद पराजुलीको पनि सहभागिता रहेको थियो ।