हेटौंडा । हरेक बर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको तीज गीत प्रतियोगिता एवम् महोत्सव यो बर्ष पनि भव्य रुपमा सम्पन्न भएको छ। हेटौंडाको पशुपती मन्दिर परिसरमा सम्पन्न महोत्सव नेशनल गोल्ड टेलिभिजन र हेटौँडा एफ एमले संयुक्त रुपमा आयोजना गरेको हो ।
बागमती प्रदेश सरकारकी मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न तीज गीत प्रतियोगिता एबम तिज महोत्सवमा हजारौँ दर्सकले सहभागिता जनाएका थिए। राष्ट्रिय स्तरको यस तीज गीत प्रतियोगितामा दस प्रतियोगी समुहले भाग लिएका थिए। जसमध्ये सानो पोखरा आमा समूह ५ प्रथम, हजुरआमा समूह द्वितीय एबम दियालो समुह तृतीय र सामना बनस्पति समूह सान्त्वना स्थान हासिल गरेका थिए।
कार्यक्रममा प्रमुख निर्णायकको रुपमा नेकपा एकीकृत समाजवादी निकट युवा विशेष प्रदेश कमिटिका सचिवालय सदस्यसमेत रहेका चर्चित गायक तथा संगीतकार नवीन पौडेल पौडेल रहेका थिए भने अन्य निर्णायकहरुमा राजु लामा, बिन्दु परियार, मिनाश्री लुङ्गेली, गिता भट्टराई रहेका थिए ।
कार्यक्रममा विभिन्न झाँकीसमेत प्रदर्शन गरिएको थियो भने विभिन्न कलाकारले आआफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए।
निर्णायक एवम् गायक नवीन पौडेलको प्रस्तुतिले सबैलाई लोभ्याएको थियो। उनले ‘मन परेरै हो, मैले तिम्लाइ हेरेको’, ‘हरहर बासना अगरबत्तिको’, ‘के सम्झनु छ र’, ‘जान्न मत त्यो घर’, ‘लेउ खुकुरी लेउ जनता’ लगायतका गीत प्रस्तुत गरेका थिए ।
आयोजक संस्थाका प्रमुख उज्ज्वल चौलागाइँका अनुसार दर्सकहरुको अत्यन्तै माग भएकोले यस बर्ष पनि गायक नवीन पौडेललाई आमन्त्रण गरिएको हो ।
कार्यक्रममा बिन्दु परियारले ‘पर्ख पर्ख मायालु’ लगायतका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् भने मिनाश्री लुङ्गेलीले ‘स्याउ फल्यो जुम्लामा’, ‘सुनको चुरा छ’, ‘पूर्व घुम्न जाम’, गीता भट्टराईले ‘ए ठुले’, ‘बाच्छिले धान खायो’ र हेटौँडा आइडलका बिजेता दिपेश श्रेष्ठ, भ्वाइस अफ किड्सका बिजेता जेनिश उप्रेती लगायतले प्रस्तुति दिएका थिए।