काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले तीनै तहको सरकार विकास र समृद्धिको बाटोमा तिव्र गतिमा लाग्नुपर्ने बताएका बताए । सरकार विकास र समृद्धिको बाटोमा नलागे जनताहरु वर्तमान राजनीतिक व्यवस्थाको विरुद्धमा उभिनसक्ने खतरा रहेको उनको भनाइ छ ।
मंगलबार सिन्धुली उद्योग बाणिज्य संघको ३३ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, ‘जनताको जीवन अवस्था परिवर्तन नगर्ने व्यवस्थाको पक्षमा जनता लामो समयसम्म उभिँदैन । संविधानसभाबाट संविधान जारी भएको असौज ३ गते ८ वर्ष पुग्दैछ । त्यसैले अब तीनै तहको सरकार विकास र समृद्धिको बाटोमा तीव्र गतिमा लाग्नुपर्छ । अन्यथा हिजो संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन लडेका जनताहरू भोलि यही व्यवस्थाको विरुद्धमा नउभिएलान भन्न सकिन्न ।’
उनले सिन्धुली विकासको प्रचुर संभावना बोकेको जिल्ला हुँदाहुँदै पनि विकासको दृष्टिले निकै पछि परेको जिल्ला भएको औल्याए । पछिल्लो समय बीपी, पुष्पलाल र मदन भण्डारी राष्ट्रिय राजमार्गको निर्माणसँगै जिल्लामा विकास निर्माणको ढोका खुल्दै गएको बताउदै यस जिल्लाको समग्र विकासका लागि कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी रहको पनि बताए । ‘मुख्यतः मरिण, कमला र चदहा नदी नियन्त्रण गरि खेतीयोग्य उर्वर जमिन उकास गर्ने, सिंचाइको व्यवस्था गर्ने र ती क्षेत्रलाई धान पकेट क्षेत्रको रूपमा विकास गरि जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै खाद्यान्न निर्यातसम्म गर्ने योजना बनाउनुपर्छ’, उनले भने ।
बागमती प्रदेश सरकारले कृषि पकेट क्षेत्रको अवधारणा ल्याएको र अब चाँडै पकेट क्षेत्रहरू घोषणा गरि आधुनिक र व्यवसायीक कृषि उत्पान सुरु गर्ने पनि उनले बताए ।
बागमती सरकारले महाभारत क्षेत्रमा अर्ग्यानिक तरकारी र फलफूल पकेट क्षेत्र घोषणा गरि व्यवसायीक उत्पादनमा जोड दिन तरकारी एम्बुलेन्सको अवधारणासहित योजना बनाइरहेको पनि उनले जानकारी दिए ।
यस्तै, मन्त्री श्रेष्ठले दैनिकजसो भैरहेको धनजनको क्षतिबाट बच्न बीपी मार्गको चियाबारी–खुर्कोट खण्डमा सुरुङ मार्ग निर्माणको तयारी भैरहेको बताए । ‘प्रदेश सरकारको कार्यक्षेत्र नभएकाले प्रदेश सरकारको तर्फबाट हामीले नेपाल सरकारलाई सुरुङ मार्ग निर्माणका लागि अनुरोध गरेका छौँ । मलाई बिश्वास छ, सुरुङ मार्ग निर्माण कार्य चाँडै सुरु हुनेछ’, उनले भने ।
मन्त्री श्रेष्ठले सुनकोसी–मरिण डाइभर्सन सोचेभन्दा निकै तीव्र गतिमा निर्माण कार्य भैरहेको र यसबाट सिन्धुलीबासीको जीवनमा निकै ठूलो आर्थिक परिवर्तन ल्याउने बताए । उनले भने, ‘सुनकोसी–मरिण डाइभर्सन सोचेभन्दा निकै तीव्र गतिमा निर्माण कार्य भैरहेको छ । यस आयोजना सम्पन्न भएपश्चात मरिण नदी नियन्त्रण भई त्यहाँ हजारौं बिगाह खेतीयोग्य उर्वर जमिन उकास हुनेछ । साथै सिंचाइको पनि व्यवस्था हुनेछ । त्यतिमात्र नभएर सदरमुकामको खानेपानी समस्या पनि समाधान हुनेछ । यस आयोजनाबाट झन्डै ३० मेघावाट विद्युत पनि उत्पादन हुनेछ । सिन्धुलीका जनताले यो एउटा योजनाबाट धेरै लाभ लिनसक्ने देखिन्छ । यस योजनाले हामी सिन्धुलीबासीको जीवनमा निकै ठूलो आर्थिक परिवर्तन ल्याउने सुनिश्चित छ ।’
कोखाजोर जलाशययुक्त जलविद्युत आयोजना पनि संघीय सरकारले चाँडै निर्माण कार्य सुरु गर्ने जानकारी दिँदै त्यहाँबाट उत्पादन हुने ११६ मेघावाट विद्युतले सिन्धुलीबासीलाई मात्रै होइन, प्रदेश र देशलाई नै उज्यालो पार्न मद्दत गर्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।
यस्तै, हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १–२–३ को हजारौं बिगाहा जमिनमा सिंचाइ गर्ने उद्देश्यले बागमतीको पानी ल्याउन बज्रमारा सिंचाइ योजनामा बागमती प्रदेश सरकारले यसै वर्ष बजेट विनियोजन गरेको पनि उनले बताए ।