काभ्रेपलान्चोक । विकास अहिले नेपाली राजनीतिको मुख्य भाष्य बनेको छ । सरकार चलाउने हरेकले प्रत्येक पटक विकास र समृद्धि उच्चारण गर्न थालेका छन् । तर व्यवहारमा हेर्दा भने हामी विकासको पथमा छौं वा विनाशको भन्ने प्रश्न गर्नुपर्ने अवस्था छ । विकासका नाममा भएका अनेक अभ्यासले यस्तो प्रश्न गर्न बाध्य बनाउँछ । मौलिक संस्कृति र परम्परासँग जोडिएका मन्दिर, बरपिपल, पाटीपौवा र चौतारा विनाश गरिनु एउटा मुख्य चिन्ताको विषय हो । नेपालमा हरेक सरकार विकासका नाममा मौलिक र परम्परासँग गासिएका मठमन्दिर, बरपिपल, चौताराहरु विनाश गर्न नै उद्यत देखिन्छन् । सडक, भवन बनाउँदा, नहर बनाउँदा वा सहर बसाउँदा हरेक पटक सकेसम्म यि साँस्कृतिक सम्पदाहरुलाई नै विनाश गरिएको छ ।
विकासका नाममा परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ मा अवस्थित मनमति देवीको मन्दिर मासेर अन्यत्र सार्ने काम भएको छ । मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको प्राङ्गणमा रहेको मनमति देवीको मन्दिर मासेर अन्यत्र स्थानान्तरण गरिएको हो ।
मण्डनदेउपुर नगरपालिकाका रैथाने मुलवासी प्रकृतिपुजक, सनातन हिन्दु धर्म मान्ने दनुवार जाति र अन्य समुदायले हजारौं सालदेखि पुज्दै आएको ढुङ्गामाटोले निर्माण गरिएको र पछि आधुनिक शैलीमा पुनःनिर्माण भएको, दनुवार जाति र इन्द्रावती नदीसँग अन्तर सम्बन्ध भएको मनमती देवीको मन्दिर भत्काउनु निक्कै निकृष्ट कार्य भएको स्थानीय संझना राई बताउँछन् । ‘नगरपालिका परिसरभित्र मुलवासी सनातन हिन्दुधर्म मान्ने रैथाने दनुवार जातिले हजारौं सालदेखि पुज्दै आएको मन्दिर भत्काउनु अनिष्ट निम्त्याउनु हो ।’- राईको भनाइ थियो ।
सदियौंदेखि सिमान्तकृत समुदाय दनुवार जातिको बाहुल्यता रहेको बस्तीको बीचमा रहेको मनमति मन्दिरलाई संरक्षण गर्नुका सट्टा अन्यत्र सारेर अनिष्ट निम्त्याउने काम नगरपालिकाले गरेको संझना राईको भनाइ छ । जग्गा अधिग्रहण गर्दा सोही स्थानमा मन्दीरलाई संरक्षण गर्ने सहमति भएकोमा हाल नगरपालिकाले बल प्रयोग गरी अन्यत्र सारेको भनाई स्थानीय शिक्षक रामबहादुर राईको भनाई छ ।
मनमती देवीको मन्दिर दनुवार समुदायको आस्थासँग जोडिएको मन्दिर हो । यो मन्दिरमा प्रत्येक फागुन पूर्णिमाको दिन विशेष मेला लाग्ने गरेको राईले बताए । दशैंको फुलपाती, अष्टमी, नवमीमा पूजा गरिन्छ । त्यस्तै अन्य चाडपर्वमा समेत पूजापाठ हुँदै आएको राईको भनाई छ ।
स्थानीय साँस्कृतिक सम्पादाहरुको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको समेत रहे पनि त्यसतर्फ ध्यान दिन नसकेको र उल्टै बल प्रयोग गरेकोमा स्थानीय समाजसेवी प्रभुराम श्रेष्ठ दुःख व्यक्त गर्छन् । ‘मन्दिर हिजो जहाँ उत्पति भयो त्यहीं स्थापना गर्ने, पुरातात्विक महत्व बोकेको मन्दिरले नगरपालिकालाई कुनै हानी नोक्सानी पुग्ने देखिदैन ।’-श्रेष्ठको भनाइ थियो । श्रेष्ठले अगाडि भने- ‘गणतन्त्रमा नारायणहिटी, शितल निवास, सिंहदरबार र बालुवाटारभित्र परेका प्राचीन मन्दिर भत्काएका छैनन् , बरु सरक्षण गरेका छन् ।’
काठमाडौका बालेन शाह पुरातात्विक कला संस्कृती र संपदाको संरक्षण गरी हिरो भएको बेला मण्डनदेउपुरका मेयर भने केही थाहा नहुने सोझासाझा जनतालाई ललाईफकाइ गरी बोल्ने एउटा लेख्ने अर्को गरी जनतालाई झुक्याउने काम गरेको स्थानीयवासीको आरोप छ । मन्दीरलाई थोरै खर्चमा तारबार लगाएर दर्शन गर्न मिल्ने बनाउन सकिन्थ्यो, तर त्यसो नगरी राज्यको पैसा दुरुपयोग गरी मेयरको बाहुलीबाट मन्दीर निर्माण सम्पन्न भनाउने सामन्ती सोच जागेको हुन सक्ने श्रेष्ठको भनाइ छ । श्रेष्ठले मेयरलाई गणतन्त्रको राजा बन्न नदिने बताउँदै जनचाहना अनुसार पुराउनै स्थानमा मन्दीर पुर्नस्थापित गर्न माग गरे ।
मन्दिरका पुजारीलाई मनमती देवी चढी आफूलाई अन्यत्र नसार्न अनुरोध गरेको र सारेको खण्डमा अनिष्ट हुने संकेत गरेको बताउँदै मन्दिर सार्न नहुने पक्षमा अधिकांश दनुवार समुदाय उभिएका छन् ।
नगरप्रमुख वाईबाले प्रशासनिक भवन निर्माण थाले यता ७ औँ पटकको छलफलपछि मन्दिर स्थानान्तर गर्न सहमति जुटेको बताए । ‘ढिलै भएपनि सहमति भएको छ । हाम्रो लागि यो एउटा सफलता हो । हामी विकासमा बल प्रयोग भन्दा पनि समझदारीका साथ अघि बढ्न चाहान्छौं । उहाँहरुले राख्नुभएको माग नगरपालिकाले पुरा गर्नेछ । अर्को नयाँ मन्दिर पनि बनाउने छौँ । भक्तजनका लागि सतल निर्माण गरिनेछ । मठमन्दिरको संरक्षण गर्ने दायित्व नगरपालिकाको हो ।’ नगरप्रमुख वाईबाले भने ।
नगरप्रमुख वाईबा, प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोकबहादुर लोप्चन, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु पौडेलसहितको उपस्थितिमा पुरानो मन्दिरको जग्गा नगरपालिकालाई दिन सहमति गरे बापत दनुवार समुदायलाई कदर पत्रद्वारा सम्मान गरिएको छ ।