हेटौडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकालाई ५ वर्षभित्र प्रदेशकै नमुना क्षेत्र बनाउने बताए । आइतबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तिर्थबहादुर लामासहित उक्त स्थानमा सिंचाइ आयोजना संभाव्यता अध्ययन गर्न पुगेका उनले यस्तो प्रतिवद्धता गरेका हुन् ।
टोली हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर १–२ र ३ मा पर्ने दसौं हजार बिगाह उर्वर भूमि सिंचाइ गर्नसक्ने ‘बज्रमारा सिंचाइ आयोजना’को संभाव्यता अध्ययन गर्न आइतबार बिहान पालिका अध्यक्ष बज्रध्वज वाइवालगायतका स्थानीय टीमसँग बागमती किनारको बस्ती बज्रमारा पुगेको थियो ।
मन्त्री श्रेष्ठ यसै निर्वाचन क्षेत्रबाट अत्याधिक मतका साथ प्रदेश सभा सदस्यमा विजयी भएका थिए । सोही ठाउँमा पुगेर उनले भने, ‘बागमती प्रदेश सभाको ६६ वटा निर्वाचन क्षेत्रमध्ये मानव विकास सूचकांकमा सबैभन्दा पुछार अर्थात् ६६ औं नम्बरमै रहेको यस क्षेत्रलाई ५ वर्षभित्र प्रदेसकै नमूना क्षेत्र बनाउने छौं ।’
उनले सुनकोसी मरिण डाइभर्सनले अबको केही वर्षभित्र मरिण र हरिहरपुरगढी गाउँपालिकामा अहिले बगर बनिरहेको लाखौं बिगाह जमिन उकास भई त्यसमा सिंचाइ हुने साथै यस बज्रमारा सिंचाइ आयोजनाले हरिहरपुरको दसौं हजारौं बिगाह सुख्खाग्रस्त जमिनमा सिंचाइ सुविधा पुग्ने बताए । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले मरिण र हरिहरपुरलाई धान पकेट क्षेत्र र घ्याङ्लेख गाउँपालिकालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरी यस क्षेत्रमा कृषि क्रान्ति ल्याउने कुरा पनि बताए ।
सिन्धुली, काभ्रे र मकवानपुर ३ जिल्लाको सीमाना जोडिएको स्थल भोर्लेनी नजिकै बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त दसौं हजार खेतीयोग्य जमिनमा सिंचाइको लागि पु¥याउन सकिन्छ । यस आयोजनाको डिपिआरसमेत तयार भैसकेको छ । यस बहुवर्षीय आयोजनालाई आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्राथमिकतामा राखेर काम सुरु गर्ने जानकारी मुख्यमन्त्रीलगायत मन्त्रीहरूले गराएका छन् ।