काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीस्थित विश्वम्भर लामिछानेको जर्बुट्टा कलायात्राको अवलोकन गरेका छन् । लामिछानेले आफ्नै घरमा सजाएर राखेको जर्बुट्टाको अवलोकन गर्दै मन्त्री श्रेष्ठले यसको संरक्षणका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आइतबार लामिछानेको जर्बुट्टा कलायात्रा पुगेका श्रेष्ठले यसअघि विभिन्न व्यक्ति तथा सरकारले कलाको संरक्षण र सम्बर्द्धनका लागि सहयोग गर्ने वचन दिए पनि केहिले मात्रै सहयोग गर्ने गरेको र उक्त सहयोग पर्याप्त नभएको बताए । ‘देशविदेशबाट कलाप्रेमीहरू लामिछानेको कला हेर्न उनको घरमा पुग्छन् । मख्ख पर्छन् । कलामा डुब्छन् । कतिपयले कलाको संरक्षण र सम्बर्द्धनका लागि सहयोग गर्ने वचन पनि दिन्छन् । धेरथोर सहयोग पनि गर्छन् । तर, पर्याप्त छैन ।’, उनले भने ।
यसअघि बागमती प्रदेश सरकारले बनाइदिएको भवन हेरेर आफूलाई लज्जाबोध भएको पनि मन्त्री श्रेष्ठले बताए । उनले भने, ‘बागमती प्रदेश सरकारले पनि लामिछानेको कलालाई संरक्षण र सम्बर्द्धन गर्नका लागि एउटा सङ्ग्राहलय भवन बनाइदिएको रहेछ । तर, अमूल्य कला राख्न बनेको कलापूर्ण भवन भन्दा पनि गोदाम घर बनेको रहेछ । प्रदेश सरकारको मन्त्रीको हैसियतमा प्रदेश सरकारको लगानीमा बनेको यस भवन हेरेपछि लाजले पानी-पानी भएँ ।’


श्रेष्ठका अनुसार पेशाले कानुनव्यावसायी विश्वम्भर लामिछानेले झन्डै ३ दशक अगाडि घर नजिकै एउटा जरा फेला पारेका थिए। त्यस जरामा उनले कला देखे । र, जरालाई कलामा रुपान्तरण गरे । यहीँबाट लामिछानेको जर्बुट्टा कलायात्रा सुरु भएको हो। अहिले उनले सिर्जना गरेका करिब ३०० थान अमूल्य जर्बुट्टा कला सिन्धुलीको कमलामाई- ४ ढकाल गाउँस्थित आफ्नै घरमा सजाएर राखिएको छ ।
जर्बुट्टा कला अब लामिछानेको निजी सम्पत्ति नभएर देशको सम्पत्ति बनिसकेको मन्त्री श्रेष्ठले बताए । ‘उहाँले जीवनभरिको आफ्नो सिर्जनालाई जर्बुट्टा कला केन्द्र नामक संस्था बनाएर जिम्मा लगाइसक्नु भएको छ । कलाको संरक्षणका लागि सङ्ग्राहलय निर्माण गर्न आफ्नै जमिन दिनुभएको रहेछ । महंगो जमिनमा प्रदेश सरकारले बनाइदिएको संरचनाप्रति उहाँ सन्तुष्ट हुनुहुन्न । त्यस जमिनमा आफ्नो अमूल्य कला सङ्ग्रहण गर्न कलात्मक सङ्ग्रहालय बनाओस् भन्ने उहाँको चाहना छ । जुन एकदम आवश्यक पनि छ ।’, मन्त्री श्रेष्ठले भने ।
अमूल्य कलाको सङ्ग्रहण, संरक्षण र सम्बर्द्धनका लागि बागमती प्रदेश सरकाले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।