November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बागमती प्रदेशका आन्तरिक मामिला मन्त्रीद्वारा एसईई परीक्षाको अनुगमन

6.4K

हेटौडा । आजबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले अनुगमन गरेका छन् । हेटौंडास्थित आधुनिक राष्ट्रिय मावि र भुटनदेवी मावि दुईवटा परीक्षा केन्द्र पुगेर मन्त्री श्रेष्ठले विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुखद भविष्यको शुभकामना दिएका हुन् ।

मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्दै परीक्षा केन्द्राध्यक्षलगायत टीमलाई धन्यवाद दिएका छन् । साथै, परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित  बनाउन बागमती प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिएको कुरा पनि बताएका छन् ।

त्यस्तै मन्त्री श्रेष्ठले विशेष अवस्थाका परिक्षार्थीलाई समेत हौसला प्रदान गर्दै विद्यालयका नर्सलाई परिक्षार्थीहरुलाई कुनै पनि बेला आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा अलर्ट रहन सम्बन्धित केन्द्राध्यक्ष मार्फत निर्देशन दिएका छन् ।

Advertisement

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएका र त्यसमध्ये करिब २० प्रतिशत परीक्षार्थी बागमती प्रदेशमा सहभागी भएका छन् । त्यस्तै एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा रहेको जानकारी सामजिक विकास मन्त्रालयका शाखा अधिकृत विजय बिडारीले जानकारी दिए ।

बागमती प्रदेशका १ लाख १ हजार ७३३ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र रहेको  अधिकृत बिडारीले जानकारी दिए ।