काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आज धुलिखेलस्थित काभ्रेको जिल्ला प्रहरी कार्यालय र कारागारको निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा प्रहरी उपरीक्षक भाग्यन्द्र पुरुष ढकालले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा अवगत गराएका थिए । साथै उनले जिल्लामा रहेका समस्या र समाधानका बारेमा पनि धारणा राखेका थिए ।
त्यस्तै कारागार प्रमुख परशुराम थापाले कारागारमा रहेका समस्याहरूबारे जानकारी गराएका थिए ।
मन्त्री श्रेष्ठले विपद्को तयारी, सडक दुर्घटना न्यूनीकरणका लागि ठोस कार्यक्रम, करिडोर र मुख्य नाका हुँदै भैरहेको आपराधिक गतिविधिको नियन्त्रण, सेवाग्राहीलाई प्रभाकारी र चुस्तदुरुस्त सेवा प्रदान, दलित समुदायका लागि अलग्गै दलित सेल बनाएर सेवाप्रदान, नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए । साथै, प्रहरीका लागि भौतिक पूर्वाधारको निर्माण र आधुनिक उपकरणहरू उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराए । यही क्रममा चाँडै प्रहरी समायोजन हुने विश्वास पनि व्यक्त गरे ।
मन्त्री श्रेष्ठले कारागारमा रहेको समस्या समाधान नीतिगत रूपमा गर्नुपर्ने धारणा राखेका थिए । मन्त्री श्रेष्ठले खुला कारागारको नीति बनाउनेतर्फ पहल गर्ने कुरा बताए । कारागारमा रहेको तत्कालको भौतिक समस्या समाधान गर्न मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल पनि थिए ।