काठमाडौं । काठमाडौं उपत्यका–काभ्रे–सिन्धुली–उदयपुर हुँदै सुनसरी जिल्लाको बरहाक्षेत्रसम्मको महाभारत श्रृंखलालाई जोड्ने ऐतिहासिक महाभारतको पर्यटन मार्गको रुपमा चिनिने ‘महाभारत पर्यटन मार्ग’ निर्माणका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।
आर्थिक वर्ष २०८०–०८१ को नीति कार्यक्रममा योजना समावेश गरी बजेट विनियोजन गर्न माग गर्दै शनिबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको नेतृत्वमा सांसादहरू नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सभा दलका प्रमुख सचेतक रत्न ढकाल, बागमती प्रदेश सदस्यद्वय मातृकाप्रसाद भट्टराई र शुष्पा भुजेलले उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई एक पत्र बुझाएका छन् ।
मन्त्री तथा सांसदहरूले उक्त मार्गलाई राष्ट्रिय गौरवको आयोजना बनाउनु पर्ने मागसमेत गरेका छन् । ‘सांस्कृतिक रुपमा यस सडकले नेवाः, तामाङ र किरात संस्कृतिलाई जोड्ने छ । अत्यन्तै सुन्दर भूगोल भएकाले लाखौं पर्यटकहरुलाई आकर्षित गर्नेछ । सडकको दायाँबायाँ अधिकांश ठाउँमा लिंकरोड बनिसकेकाले त्यस क्षेत्रका कृषि उत्पादन सिधैकाठमाडौं उपत्यकामा ल्याई लाखौं कृषकहरुको जीवनस्तर बदल्न सकिनेछ तसर्थ, यस मार्गलाई देशको गौरवको आयोजनाको रुपमा विकास गर्नका लागि हामी विशेष अनुरोध गर्दछौँ ।’, माग–पत्रमा उल्लेख छ ।
उपप्रधानमन्त्री श्रेष्ठले यस मार्गलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेको मन्त्री गंगा श्रेष्ठले जानकारी दिए ।
