काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले रसुवा जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा मन्त्री श्रेष्ठलाई जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले अन्तर्राष्ट्रिय सीमा जोडिएको जिल्लामा आवश्यक जनशक्ति नहुँदा शान्ति सुरक्षामा समस्या भइरहेको बताएका थिए ।
त्यस्तै रसुवा पर्यटाकीय जिल्ला भएकाले जिल्लामा अत्याधुनिक प्रविधिसहितको प्रहरी चौकीहरू नहुँदा समस्या भैरहेको कुरा पनि प्रहरी प्रमुखले मन्त्रीलाई जानकारी गराए । मन्त्री श्रेष्ठले अत्याधुनिक प्रविधियुक्त प्रहरी चौकीहरू निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् ।
मन्त्री श्रेष्ठ चीनको सीमा क्षेत्र टिमुरे पुगेर त्यहाँ निर्माणाधीन सुरक्षा चौकी र भन्सार कार्यालय भवनको निरीक्षण पनि गरेका छन् । यही चैतसम्म निर्माण कार्य सम्पन्न हुनुपर्ने कार्यालय भवनहरू सम्पन्न नभएकोमा चिन्ता व्यक्त गर्दै उनले आयोजनासम्बद्ध निर्माण व्यवसायीलाई यथाशीघ्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन समेत गरेका छन् ।
भूकम्पले क्षतिग्रस्त कारागार भवन निकै जोखिमपूर्ण रहेको भन्दै मन्त्री श्रेष्ठले कारगारभित्र बन्दीहरूलाई सुरक्षित आवासका लागि भवन निर्माणका लागि प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका छन्