November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘कोसी प्रदेश’ नामकरणविरुद्ध काठमाडौंको माइतीघरमा बृहत् प्रदर्शन,

२०७९ फाल्गुन २८

2.9K

काठमाडौं । कोसी प्रदेश नामकरणविरुद्ध सङ्घीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन भएको छ । आइतबार काठमाडौंसहित कोसी प्रदेशका अधिकांश शहरहरूमा पहिचानवादीहरुले हड्ताल गरेका छन् । ‘कोसी प्रदेश’ खारेजको मागसहित पहिचान पक्षधर संघसंस्थाहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा प्रदेश नं. १ को नाम पहिचानका आधारमा राखिनुपर्ने माग दोहोर्‍याउदै आएका पहिचानवादी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो । उनीहरूले कोशी खारेज गरेर पहिचानसहितको सङ्घीयताको मर्मअनुरूप नाम राखिनुपर्ने माग गरेका छन् ।

बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका पुर्वाध्यक्ष गोविन्द छन्त्यालले अब आदिवासीहरु एक ठाउँ हुनुको अर्को विकल्प नरहेको बताए । ‘हामी यहाँ खेलाचीँ गर्न उभिएका हैनौं । हिजो हाम्रो आन्दोलन बिथोल्नेहरुले राई र लिम्बु मिल्दैनन् भन्थे । हिजो मसाल जुलुस देखियो हैन त ! विविधता भएको समाजमा कहिलेकाहीँ मतभिन्नताहरु हुन्छन्, कहिलेकाहीँ कुराकानी नमिलेको जस्तो हुन्छ । तर, ती काँग्रेस, एमाले, राप्रपामा भएका खसआर्य एक भएजस्तो हामी आदिवासीहरु पनि एक हुनुको विकल्प अर्को छैन ।’, उनले भने ।

Advertisement

बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका पुर्वाध्यक्ष गोविन्द छन्त्याल

छन्त्यालले सभ्यताको आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्नु जातीय भएको आरोपको खण्डन गरेका छन् । उनले भने, ‘मैले पढेको राजनीतिशास्त्रमा जातीय त्यसलाई भनिन्छ, जो एउटै जाती एउटै भाषा, एउटै संस्कृति, एउटै धर्म भएका मान्छेले साशन सत्ता कब्जा गर्छन् र सासन गर्छन् । अहिले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधिश, सिडियो, सचिव, आर्मीको चिफ सबै एउटै जातीका छन् । हो, यो चाहिँ जातीय हो ।’ यस्ता किसिमको जातीय संरचनालाई भत्काउनुपर्ने उनको धारणा थियो ।

यस्तै, प्रर्दशनलाई सम्बोधन गर्दै नेपाल मगर संघका सहअध्यक्ष गंगाबहादुर थापाले गुमेको अधिकार फिर्ता पाइछोड्ने बताए । ‘चोमोलुङ्माको कसम ! हामी त्यो फिर्ता गरेरै छाड्छौं । चोमोलुङ्मा हाम्रो काखमा छ । हामी किरात लिम्बुवान, शेर्पालुङ, ताम्सालिङ, नेवा, तमुवान, मगरात, थरुवान राज्य स्थापित गरेरै छाड्छौं ।’, थापाले घोषणा गरे ।

प्रर्दशनलाई सम्बोधन गर्दै नेपाल मगर संघका सहअध्यक्ष गंगाबहादुर थापा

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले ‘कोशी प्रदेश खारेज गर’, ‘किरात लिम्बूवान् शेर्पालुङ नामाकरण गर’, ‘चोमोलुङ्माको कसम प्रदेश नं. १ को नाम किरात नै लेखाउँछौँ’लगायत लेखिएको पर्चाहरू बोकेका थिए ।

आन्दोलनकारीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामासमेत माग गरेका छन् । कार्कीले पहिचानसहितको सङ्घीयताको मर्मलाई कुल्चेर नामाकरण गरेको आरोप लगाउँदै उनीहरूले मुख्यमन्त्री कार्कीको राजीनामा मागेका हुन् ।

गत फागुन १७ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरु आन्दोलित बन्दै आएका छन् । शनिबार प्रदेशभर राँके जुलुस निकालेका उनीहरुले आइतबार काठमाडौंसहित कोशी प्रदेशका अधिकांश शहरहरूमा हड्ताल तथा प्रदर्शन गरेका हुन् ।

बिरोध प्रदर्शनमा उत्रिएका कविहरू