काठमाडौं । बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले कारागारमा रहेका समस्याहरू समाधान गर्न पहल गर्ने बताएका छ्न् । शनिबार नुवाकोटस्थित जिल्ला कारागारको निरीक्षक गर्दै मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
मन्त्री श्रेष्ठले निरीक्षणको क्रममा कारागारभित्र स्वास्थ्योपचार, पानी, इन्धन, यातायात साधनको समस्या रहेको जानकारी प्राप्त भएको बताए ।बन्दीहरूले सिपमूलक तालिमको व्यवस्था गर्नुपर्ने माग गरेको पनि उनले जानकारी दिए ।
उनले शनिबारै नुवाकोटको बट्टारमा निर्माणाधीन केन्द्रीय कारागार पनि निरीक्षण गरेका थिए । निरीक्षणबाट झन्डै ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको र निर्माण कार्य अझै निकै नै बाँकी रहेको देखिएको पनि उनले जानकारी दिएका छन् ।
यसअघि मन्त्री श्रेष्ठ विदुरमा आयोजना भएको ‘सूचनाको हक प्रवर्द्धन कार्यक्रम’ उपस्थित भएका थिए । उक्त कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले सूचनाको हकलाई तल्लो वर्गमा कार्यान्वयन गर्ने बताए । श्रेष्ठले वाग्मती प्रदेश सरकारले मातहत कार्यालयमा सूचनाको हकलाई मौलिक हकको रुपमा कार्यान्वयनमा लैजान कार्यक्रम गरिएको बताएका थिए । उनले सूचनाको हक तल्लो वर्गसम्म पु¥याउन सरोकारवाला निकायलाई निर्देशनसमेत दिए ।
राजनीतिक सुशासन कायम गर्न र समृद्धिको यात्रा अगाडि बनाउन सूचनाको महत्वपूर्ण भूमिका रहने भन्दै सूचनाले नागरिकलाई सशक्त बनाउने मन्त्री श्रेष्ठको भनाइ थियो । ‘यो सूचनाले नागरिकलाई सशक्त बनाउने गर्छ । मुख्य सूचना लिने र दिने हो । नागरिकलाई सूचना दिने हो ।’, उनले भने ।