March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

प्रकृति संरक्षणमा आठ हजार बढी सैनिक परिचालित

3.5K

काठमाडाैं । राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ । प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ।

राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा हुने चोरी निकासी रोकथाम नियन्त्रणका लागि  तैनाथ सेनाले नियमित गस्ती, एम्बुस र चेकप्वाइन्ट खडा गरी प्रकृति संरक्षणमा गौरव गर्न लायक काम गरिरहेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले २०३४ सालदेखि प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि  निकुञ्ज तथा आरक्षमा परिचालित हुँदैआएको छ।

Advertisement

प्रकृति संरक्षणमा आठ हजार बढी सैनिक परिचालित

सेनाका आठ गण र सात गुल्मका आठ हजारभन्दा बढी जनशक्ति प्रकृति संरक्षण र वन्यजन्तु सुरक्षामा अहोरात्र खटिरहेको उनले जानकारी दिए। चितवन राष्ट्रिय निकुञ्जमा खड्गदल गण, पर्सा राष्ट्रिय निकुञ्जमा सिद्धिबक्स, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा दि फेमश महिन्द्र दल  र शम्शेर दल, बर्दिया राष्ट्रिय निकुञ्जमा देवीदत्त, बाँके राष्ट्रिय निकुञ्जमा अर्जुनबाण, लाङटाङ राष्ट्रिय निकुञ्जमा विष्णु दल, शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा देवी दल गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा रामवाण गुल्म तैनाथ छ।

मुलुकमा १२  राष्ट्रिय निकुञ्ज, एक शिकार आरक्ष, एक वन्यजन्तु आरक्ष र छ संरक्षित क्षेत्र छन्। प्रकृतिक सरक्षण र दुर्लभ वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि सेनाका १८८ पोष्टबाट खटिने सुरक्षा टोलीले दैनिकजसो हजारौँको सङ्ख्यामा गस्तीे गर्ने, गौडा छेक्ने र घेराबन्दीको कारवाही सञ्चालन हुँदैआएको सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ।