काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा एपीएफ क्लब र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइहरेको छ।
त्रिवी क्रिकेट मैदानमा पुलिसविरुद्ध टस हारेर एपीएफले ब्याटिङ गरिरहेको छ। साविक विजेता पुलिस एपीएफलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्ने दाउमा छ। यता, एपीएफ पनि पुलिसलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा छ।
दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र आर्मीबीच बिहीबार (भोलि) फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। समूह ‘ए’ बाट एपीएफ क्लबले शतप्रतिशत जित निकाल्दै समूह विजेता बनेको हो।
एपीएफले चार खेलबाट ८ अंक बनायो। उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको आर्मीले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हारसहित ६ अंक बनायो। यो समूहबाट कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेश भने समूह चरणबाटै बाहिरिए।
समूह ‘बी’ बाट बागमती प्रदेश विजेता बन्दा उपविजेता नेपाल पुलिस क्लब बन्यो। बागमतीले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनायो। नेपाल पुलिस क्लबले भने चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनायो।
५ अंक बनाएको लुम्बिनी, २ अंक बनाएको सुदूरपश्चिम र अंक बिहीन बनेको प्रदेश २ भने समूह चरणबाटै बाहिरिए। प्रधानमन्त्री कपको विजेताले यो पटक १० लाख मात्रै पाउने छ। त्यस्तै, उविजेताले ५ लाख पाउने छ।
यसअघि विजेताले २० लाख र उपविजेताले १० लाख पाउँदै आएका थिए। तर, मंगलबार नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले प्रधानमन्त्री कपको पुरस्कार राशि आधा घटाएको हो।