महोत्तरी- शितलहरले मध्यपूर्वी तराईको जनजीवन कष्टकर भएको छ ।
पछिल्लो एक सातायता घाम नलागेपछि जनजीवन कष्टकर बन्दै गएको हो । गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ ।
बेगले बहने चिसो हावा र लगातारजसो परिरहेको तुसारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन् ।
“बारीका तरकारीका बोट पहेँलिदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्”, महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहा भन्छन्, “अन्य कोसे तरकारी (सिमी, केराउ, मटर) का बोट, लहरा, फुल र कोसा पनि कक्रक्क परेका छन् ।”
बाली देख्दा मन विरक्तिने स्थिति रहेको कुशवाहा बताउनुहुन्छ । कुशवाहाजस्तै यसै बस्तीका रामविनोद महतो, जवाहर महतो र भोला महतो पनि लगातार एक साताको शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था आएको बताउँछन् ।
लगातार चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएका छन् । अन्य पशु वस्तु पनि समुचित स्याहार नपाउँदा जिङ्राएका पशुपालक किसानको चिन्ता छ ।