काठमाडौं । नेपालका सातै प्रदेशका सांसदहरू सङ्घीयता सिक्न अमेरिका गएका छन् । नेपालको सङ्घीय संरचनालाई संस्थागत गर्न तथा प्रदेश संरचनालाई मजबुत बनाउने उद्देश्यले हरेक प्रदेशबाट १–१ जना सांसद छानेर अमेरिकन काउन्सिल्स फर इन्टरनेशनल एजुकेशनले अमेरिका लगिएको हो ।
भ्रमणमा बागमती प्रदेशबाट अमनकुमार मास्के, कोसी प्रदेशबाट बाबुराम गौतम, गण्डकी प्रदेशबाट सरस्वती गुरुङ, कर्णालीकी सन्तोषी शाही, सुदूरपश्चिम प्रदेशकी ललिता देवी सुना, लुम्बिनीकी निर्मलादेवी थारु र मधेस प्रदेशका सन्जयकुमार यादव गएका छन् ।
उनीहरूले १६ दिनको भ्रमणमा नेपालमा प्रादेशिक सरकार सुदृढीकरणबारे अध्ययन गर्नेछन् । सङ्घीय, राज्य र स्थानीय सरकारबीच अधिकार र जिम्मेवारीको विभाजनसहित अमेरिकी सङ्घीय शासन प्रणालीको संरचना र कामबारे अध्ययन गरिने जनाइएको छ ।
यस्तै, सीमान्तकृत समुदायका महिलाहरूको सहभागिता र प्रतिनिधित्वलाई प्रवर्द्धन गर्न राष्ट्रिय, प्रदेश र स्थानीय तहमा कानुनी, नियामक र नीतिगत मुद्धाहरुमा पैरवी गर्न विज्ञहरूसँग अन्तर्क्रिया हुने पनि जनाइएको छ । टोली मङ्सिर ३० गते नेपाल फर्किनेछ ।