काठमाडौं- नेपालमा बसेर विभिन्न नेपाली बैंकका एटिएम प्रयोग गरी युरोपका बैंक खाताको पैसा चोरी गर्ने बुल्गेरियाली नागरिक पेटोस्लाभ रिस्टोभलाई सर्वोच्च अदालतले दुई वर्ष कैद हुने सजाय सुनाएको छ। यस्तै पक्राउ पर्दाका बखमा उनीसँग भएको नगद रकमलाई बिगो मानी बिगो असुल उपर गरी सोही बराबरको जरिवाना समेत हुने फैसला सर्वोच्चले सुनाएको हो।
सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले रिस्टोभकालाई काठमाडौँ बसेर विदेशी बैकमा भएको रकम चोरीको आरोपमा सोमबार यस्तो सजाय सुनाएको हो।
२०७१ चैत १२ गते रिस्टोभ काठमाडौंबाट पक्राउ परेका थिएका थिए। उनको साथबाट ४० हजार अमेरिकी डलर, युरो ५७ हजार, १८ लाख नेपाली रुपैयाँसहित कार्ड रिडर, कार्ड राइटर र विभिन्न बैंकका थुप्रै एटिएम कार्ड बरामद भएका थिए। यो रकमसहित बरामद अन्य सामग्रीको बिगो मूल्य १ करोड ७० लाख कायम गरी सोही बराबरको जरिवाना र दुई वर्ष कैदको फैसला सर्वोच्चले सुनाएको हो।
सरकारी वकिलको कार्यालयले उनीसँग १ करोड १९ लाख ५९ हजार ७ सय ८० को बिगो दावी गर्दै बैकिङ कसुर मुद्दा पाटन उच्च अदालतमा दर्ता गराएको थियो। उच्च अदालत पाटनले २०७२ माघ १४ गते फैसला सुनाउँदै दोषी ठहर गरेको थियो। उच्चको फैसलाविरुद्ध उनी सर्वोच्च पुगेका थिए। सरकारी पक्ष पनि सर्वोच्च पुगेपछि सोमबार अन्तिम फैसला भएको हो।
यो घटनासँगै अन्तर्राष्ट्रिय आपराधिक गिरोहले मास्टर तथा एटिएम कार्डमार्फत विदेशी बैंकको रकम चोरी गर्नका लागि नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने गरेको हो कि भनेर अनुसन्धान भएको थियो।
यसरी खुल्यो रहस्य
ठमेलका विभिन्न एटिएम सेन्टरहरुबाट शंकास्पद रुपमा रकम निकालेपछि हिमालयन बैंकले प्रहरीलाई खबर गरेको थियो। मास्क लगाएर एटिएम सेन्टरमा प्रवेश गरेका उनले धेरै वटा एटिएम कार्डबाट पैसा निकालेका थिए।
त्रिदेवीमार्गस्थित टेम्पल टाइगर अपार्टमेन्टस्थित रिस्टोभको कोठाबाट प्रहरीले दर्जनौँ थान एटिएम कार्ड र विभिन्न विद्युतीय उपकरण बरामद गरेको थियो।
पेशाले होटल म्यानजेर रहेका उनी ६ महिनामा ४ पटक नेपाल आएको प्रहरीको अनुसन्धानमा पाइएको थियो। उनले एटिएमबाट एक पटकमा १० हजारका दरले पैसा निकाल्ने र साट्ने गरेका थिए।
बैंकका अधिकारीले सिसिटिभीको फुटेजका आधारमा शंका गरेपछि एटिएम मेसिन नै बन्द गरेका थिए। लगत्तै प्रहरीलाई सिसिटिभी फुटेज उपलब्ध गराएपछि बुल्गेरियन नागरिक पक्राउ परेका थिए।