April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रदेश प्रमुख कलौनीसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश

2.8K

कर्णाली– कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले आर्थिक वर्ष २०७६/७७ वार्षिक प्रतिवेदन पेश गरेको छ।

संवैधानिक आयोगले केन्द्रमा राष्ट्रपति तथा प्रदेशमा प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गर्ने व्यवस्थाअनुरुप अख्तियारको सुर्खेत कार्यालयले मंगलबार प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गरेको हो। प्रदेश प्रमुखको कार्यालयमा आयोगका सुर्खेत कार्यालय प्रमुख नारायणप्रसाद रिसालले प्रतिवेदन हस्तान्तरण गरे।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले सदाचार निर्माणको निम्ति आयोगले गरेको कामप्रति खुशी व्यक्त गरे। आयोगले तीनवटै तहका सरकारलाई दिएका सुझावलाई मनन् गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचारमुक्त प्रदेश बनाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा प्रतिवेदन सहयोगी बन्ने आशासमेत व्यक्त गरे। अख्तियार दुरुपयोगका उजुरी आयोगसम्म सहजै पुर्‍याउने वातावरणका लागि प्रविधिमैत्री व्यवस्थामा जोड दिनुपर्ने उनको सुझाव थियो।

Advertisement

प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ मा आयोगमा दर्ता भएका कूल उजुरीमध्ये कर्णाली प्रदेशका ५.८२५ (१०८० वटा) उजुरी रहेका छन्, जुन अन्य प्रदेशको तुलनामा दोस्रो कम हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका प्रमुख रिसालले कर्णाली प्रदेशमा गत आर्थिक वर्षको अवधिभर एक हजार ८० उजुरी आयोगमा दर्ता भएकामध्ये ६१३ उजुरी फर्छ्यौट तथा ४६७ उजुरी फर्छ्यौट हुन बाँकी रहेको र बाँकी उजुरीहरु चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको जानकारी दिए।