April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कमल थापाले भने – ओलीको ठाउँमा प्रचण्ड, नेपाल र देउवा ल्याए पनि देशले निकास पाउन सक्दैन

२०७७ कार्तिक १८

4.1K

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नीतिगत सुधार नगरेसम्म ‘कस्मेटिक’ परिवर्तनको कुनै अर्थ नरहने दाबी गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सम्सयाको चक्रब्यूहबाट देशलाई मुक्त गराउन सरकार र दलबाट सम्भव नभएको बताएका छन् ।

‘समस्याको वर्तमान चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन व्यक्ति, दल वा सरकार परिवर्तनबाट मात्र संभव छैन । निश्चय पनि व्यक्ति, दल र सरकार दोषी हुन्’, उनले भनेका छन्, ‘तर, मार्गचित्र, अवधारणा र नीतिमा सुधार नगरेसम्म ‘कस्मेटिक’ परिवर्तनको कुनै अर्थ रहँदैन ।’

Advertisement

अध्यक्ष थापाले कांग्रेस, नेकपा वा अन्य कुनै नयाँ दल आए पनि देशले संकटबाट मुक्ती नपाउने बताएका छन् । उनले विगत चौध वर्षको राजनीतिक अभ्यासलाई दृष्टिगत गर्दै एकपटक फेरि नेपाली जनताले मुलुकको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्नु जरुरी भएको बताएका हुन् ।

‘केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कंग्रेस वा अन्य कुनै अमुक दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउन सक्दैन’, उनले भनेका छन् ।

उनले बिदेशीको दवाव र प्रभावमा बाह्रवुँदे समझदारी अनुरूप तयार गरिएको परिवर्तनको मार्गचित्रवारे पुनर्विचार गर्ने राष्ट्रिय सोच विद्यमान संकट समाधानको प्रस्थान विन्दु हुनसक्ने बताएका छन् ।

‘धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यतावारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रहमा गर्ने वारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ’, उनले भने ।

अध्यक्ष थापाले मुलुकमा विद्यमान विकृति र विसंगतिको निमित्त जसरी सत्तारुढ दल नेकपा जिम्मेवार रहेको आरोप लगाए ।

‘त्यस्ता विकृति र विसंगतिहरु नियन्त्रण गर्न असफल भएर मात्र होइन, स्वयं आफू पनि त्यस्ता कार्यहरूमा सहभागी भएको कारण नेपाली कांग्रेसले आफ्नो संवैधानिक राजनीतिक जिम्मेवारी निर्वाह गर्न सकेको छैन’, अध्यक्ष थापाले भने, ‘भ्रष्टाचार र ब्रम्हलूट गर्ने कार्यदेखि राज्यसत्ता माथि कब्जा गर्ने कार्यमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी, भागवण्डा र सहमति कायम गरेका छन् ।’