April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोना संक्रमण मुक्त भएकाले प्लाज्मा दान गर्न मेयर शाक्यको आग्रह

२०७७ कार्तिक १५

2.6K

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणबाट मुक्त भएका संक्रमितलाई प्लाज्मा दान गर्न आग्रह गरेका छन्।

गम्भीर अवस्थाका कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने गरिएको छ। संक्रमणबाट मुक्त भएकाहरूले प्लाज्मा दान गरी गम्भीर अवस्थाका बिरामीको ज्यान बचाउन सकिने विश्वास समेत गरिएको छ। 

केही समयअघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किएका प्रमुख शाक्यले गम्भीर अवस्थाका संक्रमितको ज्यान बनाउन आफू प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पुण्य काममा सहयोग गर्न अपिल गरेका हुन्।

Advertisement

‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो। अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौँ,’ शाक्यले भने, ‘छोरी पलिस्था शाक्यले हिजो मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छिन्।’

कोरोनाका कारण गम्भीर बिरामी भएकाहरूको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरूलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस्‌ भन्ने उद्देश्यले परिवारबाट प्लाज्मा दिन सुरुवात गरेको शाक्यले बताए।

पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण बिरामी भई ओम नर्सिङ होममा उपचार गराइरहेकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षीया महिलाको उपचार भैरहेको छ।

‘काठमाडौं उपत्यकाका र महानगरपालिका पछिल्लो समय कोरोनाको हटस्पट बनिरहेको छ। यस्तो बेलामा संक्रमणपछि स्वस्थ जीवनमा फर्किनु भएका र स्वस्थ मानिसलाई प्लाज्मा दान गर्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ,’ शाक्यले भने,’ ‘कोरोना संक्रमित भनेर कसैले कसैलाई दुव्र्यवहार नगर्न पनि आग्रह गर्दछु। संक्रमितलाई सबैको प्रोत्साहन प्राप्त भयो भने सबैभन्दा ठूलो औषधि त्यही हुन्छ।’

अहिले महानगरपालिकाका विभिन्न वडामार्फत संक्रमितलाई प्रोत्साहन दिन फलफूल, मास्क, आयुर्वेदिक औषधीलगायतका सामाग्री लिएर जनप्रतिनिधि होम आइसोलेसन र आइसोलेसनमा पुग्ने गरेको उनको भनाइ छ।