April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कलाकारितासँगै राजनीतिमा आएकी करुणा पाण्डे नुवाकोट कांग्रेसबाट समानुपातिक महिलातर्फ सिफारिस

6.9K

काठमाडौं । कलाकारिता, समाजसेवा र राजनीतिलाई एकसाथ अघि बढाइरहेकी करुणा पाण्डे आगामी प्रदेश सभा निर्वाचनमा नुवाकोट नेपाली कांग्रेसबाट समानुपातिक महिला तर्फको उम्मेदवारका रुपमा सिफारिस भएकी छन् । पाण्डेसँगै अन्य पाँच जना महिला पनि सिफारिसमा परेका छन् ।

नुवाकोट खरानीटारस्थित तादी गाउँपालिका–३ नम्बर वडाबाट नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आएकी पाण्डे यस पटक नुवाकोटमा सबै क्षेत्रमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई विजयी गराउन क्रियाशील छिन् ।

काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा नेविसंघको इकाइ सहसचिब भएर काम गरेकी उनले गाउँमा समाजसेवाका रुपमा पनि सक्रिय छिन् । ‘कलाकारिता, समाजसेवा र राजनीति सँगै अघि बढाइरहेकी छु । छोटो समयमा कांग्रेसका शुभेच्छुकहरुबाट अपार माया पाएकी छु । पार्टीको इमान्दार, बफादार र अनुशासित कार्यकर्ता बनेर जनताको सेवामा जिम्मेवार बन्ने प्रण गर्दै समानुपातिक तर्फ उम्मेदवार बनेकी हुँ । सबैको माया अवश्य पाउनेछु,’उनले भनिन ।

Advertisement

‘मैंले कांग्रेसको इतिहास बुझेको छु र अब कांग्रेसमा युवालाई अवसर दिनुपर्छ भन्ने लाग्छ । अग्रजहरुलाई सम्मान गर्दै उहाँहरुको आर्शिवाद लिएर अघि बढ्ने इच्छा छ । त्यसैले समानुपातिकमा अवश्य चयन हुनेछु,’ उनले भनिन् ।

गाउँमा विपत पर्दा वा गरिब, असहास र निमुखाहरुलाई समस्या पर्दा सहयोग बोकेर पुग्ने गरेकाले धेरैले राजनीतिमा स्थापित होस भन्ने चाहनुभएको उनको भनाइ छ । कांग्रेसको १४औं महाधिवेशनमा पनि उनी महाधिवेशन प्रतिनिधिमा आकांक्षी थिइन । विभिन्न फेसन सो तथा मोडलिङ गरिसकेकी करुणाले अभिनय गरेका करिब १२ वटा म्यूजिक भिडियो पनि छन् । ‘जय शम्भो’, ‘तिम्रो हुने कहिले’ ठूलो पर्दाको फिल्ममा उनको अभिनय देख्न पाइन्छ ।