April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कुपन प्रणालीबाट धान खरिद कार्य शुरु

2.7K

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्‍जले कुपन प्रणालीबाट धान खरिद कार्य शुरु गरेको छ।

कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न शुरु गरेको हो। तर कुपन लिनका लागि लालपूर्जा देखाउनु पर्ने व्यवस्था गरिएपछि भने अधियाँ बटिया गरी धान उत्पादन गरेका किसानहरु चिन्तित देखिन्छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय नेपालगञ्जले कुपन प्रणालीबाट धान खरिद गर्ने व्यवस्था गरेपछि किसानहरुले सजिलै धान विक्री गर्न पाएका छन्। कुपन अनुसार आफ्नो पालो परेको दिन प्रति कुपन ५० क्वीन्टल सम्म धान विक्री गर्न पाउने व्यवस्था गरिएको छ। 

Advertisement

त्यही व्यवस्थाका कारण किसानहरु दैनिक रुपमा आफ्नो कुपन अनुसार धान लिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय सम्म पुग्ने गर्छन्। कम्पनीका मुख्य शाखा प्रमुख निर्मल थापाले किसानलाई वितरित कुपनमा उनीहरुको विवरणसहित धानको अनुमानित परिमाण उल्लेख गरिएको हुन्छ।

त्यसका साथै कुपनमा धान लिएर आउने दिन तोकिएकोले किसानलाई सहज भएको दाबी उनले गरेका छन्। कुपन प्रणाली लागू गर्दा धान लिएर विक्रीका लागि लाइन लाग्नुपर्ने स्थितिको समेत अन्त्य भएको छ। 

कुपन प्रणालीबाट धान खरिद भएपछि सहज भएको कृषकहरुले बताएका छन् । कुपन प्रणाली लागु गरे पछि कुपन वितरणमा भने भिड लाग्ने गरेको छ। कुपन लिनका लागि किसानले लालपुर्जा अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको छ। 

यसबाट अधियाँ बटियामा खेती गर्ने किसानले कुपन पाउन सकेका छैनन्।