April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै

6.4K

पर्वत – पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा क्षेत्रको आकाशमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु हुने भएको छ ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको विकल्प खोजी भइरहेका बेला पर्वत सदरमुकाम कुश्माबजार आसपासमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि बलेवामा पूर्वाधार निर्माण गर्न थालिएको हो । प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गरी बलेवामा पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बागलुङ नगरपालिका–१३ स्थित पैँयुपाटामा पूर्वाधार निर्माण थालिएको हो ।

प्याराग्लाइडिङ उडान (टेक अफ) गर्ने स्थान पहरेमा पूर्वाधार निर्माण शुरु गरिएको हो । गण्डकी प्रदेशले बागलुङसहित पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेकामा साहसिक पर्यटकहरुको गतिविधि बढ्दै गइरहेको धौलागिरिमा प्याराग्लाइडिङको राम्रो सम्भावना देखिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले बताउनुभयो । मन्त्री लम्सालले साबिकको धौलागिरि क्षेत्र साहसिक पर्यटनसँग जोडिँदै गएको बताउनुभयो । बलेवास्थित पहरेबाट प्याराग्लाइडिङ उडान गर्ने र बलेवा क्षेत्रसँगै पर्वतको सदरमुकाम क्षेत्र अवलोकन गरेपछि अवतरण गर्ने गरी दुईपटकसम्म सफल परीक्षण गरिसकिएको छ ।

Advertisement

बलेवामै रहेको विमानस्थल वा कुश्माबजारस्थित चण्डिका गण रहेको बडागाउँ चौरमा समेत अवतरण गर्न सकिन्छ । हावाको वेग मिल्ने र दृश्यावलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेर पूर्वाधार निर्माण थालेको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष पदमबहादुर गिरीले जानकारी दिनुभयो ।