April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इलाममा अब हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन हुने

2.2K

इलाम– कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार इलाम नगरपालिका–७ मा रहेको आइसोलेसन भवनमा हप्ताको सोमबार र बिहीबार स्वाब सङ्कलन गरिने छ । कार्यालय प्रमुख वृजकुमार दासका अनुसार परीक्षण गराउनका लागि लक्षण भएका व्यक्तिले इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्नेछ ।

दैनिक २० जनाको हाराहारीमा कोरोना बढिरहँदा कार्यालयले राखेको यो मापदण्ड अपुग जस्तो देखिन्छ । “जिल्लामा ल्याब छैन । जिल्लाबाहिर पठाउँदा सीमित सङ्ख्यामा मात्र परीक्षण हुन्छ”, कोरोनाका स्रोत व्यक्ति विमलकुमार बरालले भने, “तर सबैलाई पहुँच पुग्ने गरी परीक्षण गरिनेछ ।”

Advertisement

जिल्लामा तिहार पछाडिको समयमा कोरोना अत्यन्त बढी देखिएको छ । स्थानीयस्तरमा कोरोना देखिएकाले परीक्षण बढाउनु पर्ने देखिन्छ । जिल्लामा तिहारपछिको समयममा मात्रै आठ जनाको निधन भएको छ भने करिब २०० सङ्क्रमित थपिएका छन् ।

अस्पताल र स्थानीय तहले सुरक्षाका मापदण्ड कार्यान्वयन नगराउँदा पनि कोरोना बढेको हो ।