काठमाडौं-काठमाडौंको नागस्थानमा आजदेखि ट्राफिक लाइट सञ्चालनमा आएको छ। ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
एसएसपी भट्टराईले ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरी आवागमनमा सहजता ल्याउन चोक-चोकमा ट्राफिक लाइट जडान गर्ने कार्यलाई तीव्रता दिइएको बताए। प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना कम हुने उनको भनाइ छ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले पछिल्ला दिनमा महाशाखाले विभिन्न निकायहरुसँग सहकार्य गरी चोक-चोकमा ट्राफिक लाइट जडान गरी सडक प्रयोगकर्तालाई सुविधा दिएको भन्दै धन्यवाद् दिए।
आजदेखि सञ्चालनमा आएको ट्राफिक लाइटसमेत गरी उपत्यकाको मुख्य ३२ वटा चोकमा ट्राफिक लाइट छन्।