November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

माधव नेपाल पक्षले सुदूरपश्चिमका आठ जिल्लामा समानान्तर कमिटी गठन

4.3K

काठमाडाैं–नेकपा एमाले माधव नेपाल पक्षले सुदूरपश्चिमका आठ जिल्लामा समानान्तर कमिटी गठन गरेको छ। पार्टी नेता भीम रावलको उपस्थितिमा ९ मध्ये आठ जिल्लामा कमिटी गठन गरेको हो।

दार्चुलाबाहेक अन्य जिल्लामा कमिटी बनाइएको छ। कैलाली अध्यक्षमा दीर्घ सोडारी चयन भएका छन्। तत्कालीन नेकपामा हुँदा उनी कारबाहीमा परेका थिए। पुस ७ मा बसेको माधव–प्रचण्ड नेकपाको केन्द्रीय बैठकले सोडारीको कारबाही फुकुवा गरेको थियो।

रावलको गृहजिल्ला अछाममा शेरबहादुर कुँवरलाई अध्यक्ष तोकिएको छ। बैतडीमा महादेव भट्ट, कञ्चनपुरमा तारा लामा तामाङ, बाजुरामा गगन रावल, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बझाङमा दिलबहादुर सिंहलाई अध्यक्ष तोकिएको छ।

Advertisement

आफ्नो प्रदेशमा संगठन बनाउन नेता रावल केही दिनदेखि सुदूरपश्चिममा छन्। माधव पक्षले रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो। मंगलबारको बैठकले कमिटी बनाएको कैलालीका नवनियुक्त अध्यक्ष सोडारीले नेपाल लाइभलाई जानकारी दिए। ‘९ जिल्लामा ६ जिल्लाको नेतृत्व हाम्रै पक्षमा थियो,’उनले भने, ‘तीनवटा जिल्लामा हेरफेर गर्नुपरेको हो। दार्चुलामा पनि छिट्टै कमिटी बन्छ।’

माधव पक्षले समानान्तर कमिटी गठन कार्यलाई तिव्र गतिमा अघि बढाइरहेको छ। मंगलबार नै वागमती प्रदेशका जिल्लामा आफु पक्षीय नेतृत्व चयन गरेको छ। गत शनिबार गण्डकी प्रदेशका जिल्लामा समनान्तर कमिटी गठन भइसकेको छ। जनवर्गीय संगठनमा पनि समानान्तर कमिटी बनेका छन्।