काठमाडौँ- पश्चिमी वायुको प्रभावका कारण उच्च नेपालका हिमाली क्षेत्रमा हिमापात हुनुका साथै पहाडी र तराई क्षेत्रमा छिटफुट वर्षा भएको छ। बाग्मती प्रदेशभन्दा पूर्वी क्षेत्रका प्रदेशमा मौसम सामान्य भएपनि अरु प्रदेशमा हिमापात र वर्षा भएको हो।
आगामी तीन दिनसम्ममा मौसममा सुधार आउने संभावना कम रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए। ‘पश्चिमी वायूका प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। पहाडी र तराई क्षेत्रमा छिटफुट वर्षा भएको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘बाग्मती प्रदेशभन्दा पूर्वी क्षेत्रमा आशिंक बदली भएपनि हिमपात र पानी परेको छैन।’ पश्चिमी वायूको प्रभावका कारण बदली हुँदा घाम नलागेपछि चिसो बढ्दै गएको छ।
मंसिर १० गते (बुधबार)
बुधबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। बाग्मती,गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुनुका साथै सुदुरपश्चिम र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार राती प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
मंसिर ११ गते (बिहीबार)
बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।