November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

3.7K

काठमाडौं–उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ। कार्यालयको गेटमा राखिएको अर्को बम भने नेपाली सेनाको टोलीले डिस्पोज गराइरहेको छ।

विस्फोटबाट कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन् भने भवन चर्किएको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताए।

गएराति सवा १ बजे कार्यालयको सहायता कक्ष रहेको बरन्डामा विस्फोट भएको उनले बताए । उनका अनुसार विस्फोटबाट कार्यालयको दराज, सिसा र फर्निचरमा समेत क्षति पुगेको छ।

Advertisement

अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ भने कार्यालयको गेटमा राखिएको बम डिस्पोजका लागि नेपाली सेनाको टोली पनि पुगेकाले डिस्पोजको काम भईरहेको उनले बताए । अहिलेसम्म बम कसले बिस्फोट गरायो भन्ने खुल्न छैन। बरन्डामा सुतली बम विस्फोट भएको देखिन्छ। 

गाउँपालिका अध्यक्ष थापाले पनि विस्फोट गराउनुपर्ने कुनै कारण नरहेको बताए। आफूहरूलाई अहिलेसम्म कतैबाट कुनै प्रकारको माग, धम्की केही नआएको र एक्कासी विस्फोट गराइएको उनले बताए। ‘एक्कासी विस्फोट गराइएको छ,’ थापाले भने, ‘किन र के–का लागि भयो भनेर हामी पनि अचम्ममा परेका छौं।’