November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ओलीको चुनौती, आउँदो चुनावमा दुई तिहाइ ल्याएर सिंहदरबार फर्किने दावी

२०७७ फाल्गुन १८

3.5K

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहिएको बताएका छन् ।

झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कम्फर्टेबल अरुका लागि होइन ।’

नेकपाको प्रचण्ड–माधव समूहले ओली सरकार कम्फर्टेबल नभएको भन्दै केही दिनअघि व्यक्त भएको प्रतिक्रियालाई कटाक्ष गर्दै उनले भने, ‘नेपाली जनताले दुःख पाए पाउन्, तर अर्काका लागि कम्फर्टेबल सरकार होइन, नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहियो, नेपाली जनतालाई सजिलो हुने सरकार चाहियो । नेपाली जनताका लागि काम गर्ने, आवास, खानेपानी, बाटो, विद्यालय, बालबालिकालाई पुस्तक दिने सरकार चाहियो ।’

Advertisement

देशको स्वतन्त्रता, संप्रभुता, स्वाधीनतालाई सुरक्षित गर्दै छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध बनाउने बताउँदै प्रधानमन्त्री ओलीले नेपाली जनताले दुःख पाए पाऊन् तर अर्काका लागि कम्फर्टेबल सरकार बनाउनुतर्फ लाग्न नहुने बताए ।

‘अरुलाई खुशी पार्ने हाम्रो गन्तव्य होइन, समृद्ध नेपाल बनाउने गन्तव्य हो,’ उनले भने ।

नेपाललाई आधुनिक विकसित देश बनाइ छाड्ने संकल्पमा लाग्नु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै बैंकको ऋण लिनेदेखि अन्य सहयोगमा केही व्यवधान भए कानुन पनि संशोधन गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘नेपाली जनताको कम्फर्टेबल हुनुपर्‍यो, कम्फर्टेबल फर नेपाली पिपुल ।’

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले अदालतले प्रतिनिधिसभा ब्युउँताएर केही नबिग्रिएको बताए । उनले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनका लागि बोलाइसकेको बताउँदै राम्ररी अधिवेशन चलाएर अगाडि बढ्न आफ्नो भूमिका सकारात्मक हुने दावी गरे ।

यद्यपि, अब देशको राजनीति र प्रतिनिधिसभा कसरी अगाडि बढ्ने छ भन्ने कुरा सर्वोच्चको फैसला, मूल्यांकन र परिणामले गर्ने भन्दै आफूले त्यस विषयमा केही पनि प्रतिक्रिया नदिने बताए । ‘मेरो नकारात्मक भूमिका हुँदैन,’ उनले भने, ‘जहिले पनि सकारात्मक भूमिका हुन्छ ।’

आफू यो पाउँ, त्यो पाउँ भन्दै कहीँकतै मुद्दा तथा निवेदन हाल्न नगएको बताउँदै उनले भने, ‘म माग्न जाँदा तपाईंहरु (नेपाली जनता) को बीचमा जान्छु, ममाथि अन्याय भयो, तपाईंहरुले न्याय दिनुहोस् भनेर ।’

प्रधानमन्त्री ओलीले अहिले कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती पनि दिए । कुनै शक्तिले हटाए पनि चुनावमार्फत दुई तिहाई मत लिएर फेरि सिंहदरबार फर्किने उनले दाबी गरे ।

‘अहिले कसैले हटाउन सक्छ भने हटाओस्, अबको डेढ, दुई वर्षपछि हुने चुनावमा दुई तिहाई मत लिएर फेरि सिंहदरबार फर्किन्छु ।’

सरकारको आलोचना गर्नेहरुलाई धन्यवाद दिँदै भएका कमीकमजोरी सुधार्दै जाने अवसर मिलेको उनको भनाइ थियो ।