April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

२०७७ फाल्गुन १६

2.2K

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु भएको छ ।

उहाँलाई यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाइ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, सङ्घीय तथा प्रदेश सांसद, नेकपाका केन्द्रीय नेतासहित सयौँ कार्यकर्र्ताले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आज पहिलो कार्यक्रमका रूपमा कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर–मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन गर्नु भएकाे छ । यसैगरी दिउँसो दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन र बहुचर्चित नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

Advertisement

त्यसपछि प्रधानमन्त्री ओलीले इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ पुलको एकैचोटि शिलान्यास गर्नुहुने थापाले बताउनुभयो । प्रधानमन्त्री ओली आजै साँझ झापाको कार्यक्रम सकेर भद्रपुरबाटै जहाजबाट काठमाडौँ फर्किने कार्यक्रम छ ।